पर्सा । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले पर्साका महिला उद्योग दर्ता गर्न आकर्षित भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रममा सुधार देखिएको छ ।
कार्यालयका अनुसार साउनदेखि चैत मसान्तको अवधिमा जिल्लामा सात सय ३९ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका उद्योगमध्ये महिला उद्यमी सञ्चालक भएको सङ्ख्या भने तीन सय २९ रहेको छ ।त्यस्तै पुरुष उद्यमी सञ्चालक रहेको उद्योगको सङ्ख्या भने चार सय ४७ छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहले तराई–मधेस जस्तो ठाउँमा महिला उद्यमी सञ्चालक भएर नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्ने प्रवृत्तिमा क्रमशः सुधार आइरहेको बताए । “एक दशकअघिसम्म महिला उद्यमी सञ्चालक भएर खासै धेरै उद्योग दर्ता हुँदैनथे, सबैजसो पुरुष उद्यमी सञ्चालक भएका नयाँ उद्योग दर्ता हुने गर्थे”, उनले भने , “सरकारले महिला उद्यमी सञ्चालक भएको नयाँ उद्योग दर्ता गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत छुट दिने व्यवस्था गरेसँगै अहिले महिला उद्यमी सञ्चालक भएका उद्योग दर्ता हुनेक्रम बढेको छ ।”
सरकारले दलित/महिला र पुरुषका नाममा दर्ता हुने घरेलु तथा साना उद्योगलाई पनि ३५ प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ ।
कार्यालयका अनुसार अझैसम्म पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ । चालु आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार दुई सय ५४ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये एक हजार नौ सय चार पुरुष र एक हजार तीन सय ५० महिलालाई रोजगारी दिने क्षमता रहेको छ ।
कार्यालयले चालु आवको नौ महिनाको अवधिमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व आम्दानी गरेको छ । कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए ।
गत वर्ष दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने छ सय ५४ रहेका छन् । गत आवमा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता रहेको छ ।
कार्यालयले गत आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन गरेको थियो ।