
काठमाडाैं । टी–२० सिरिज खेल खेल्न आज वेस्ट इन्डिज ‘ए’ टोली नेपाल ओर्लिएकाे छ । नेपाल आएको वेस्ट इन्डिज टिमलाई गरिएकाे स्वागतलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलाेचना हुँदै आएकाे छ ।
वेस्ट इन्डिज ‘ए’ टोली नेपाल आइपुग्दा नेपाल क्रिकेट संघ (क्यान)ले पुराना गाडी पठाएर समानहरु असरल्ल तरिकाले ओसारेकाे र खेलाडीलाई पनि पुराना गाडीमा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बस्ने ठाउँमा लगिएपछि समाजिक सञ्जालमा खेलकुदमन्त्रीकाे चर्काे आलाेचना भएकाे छ । उता खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ स्वास्थ्यमा समस्या आएकाले आराम गरिरहेकाे जनाइएकाे छ ।
१५ वैशाखबाट सुरु हुने खेल खेल्न आएका विदेशी खेलाडीको स्वागतका क्रममा थाेत्राे बोलेरो जीप लगिएको भन्दै क्यानकाे तीव्र आलोचना भइरहेको हो ।
नेपालसँगको ५ खेलको टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली बुधबार बिहान नेपाल आइपुग्दा लिनको लागि बोलेरो जीप लगिएको थियो ।
यसको भिडिओ तथा तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । यसै सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताले क्यानको व्यवस्थापन पक्ष र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठमाथि प्रश्न उठाइरहेका हुन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन, ‘राजा आउँदा सार्वजनिक बिदा र भब्य स्वागत गर्ने देशमा खेलाडी आउँदा यस्तो स्वागत ? ‘
खेलाडीप्रतिकाे यस्तो व्यवहारले हाम्रो देशको र खेलकुदको स्तरलाई देखाएकाे भन्दै प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो ।