
पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाइने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनालाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ ।
दिमागको भित्री भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरीर सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरीर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निष्क्रिय हुँदै जान्छ तब पार्किन्सन रोग देखिँन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाइन्छ ।
पार्किन्सन रोगका लक्षणहरु
पार्किन्सन रोग लागेका व्यक्तिलाई फरक फरक लक्षणहरु देखिने गरेको छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् ।
मांसपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन, सुस्तपना, र हिँडाईमा समस्या आदी रहेका छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा बिरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।
यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ ।
शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनै पनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ ।
यस्तै, मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाब तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा बिर्सने आदी पार्किन्सनका लक्षणहरु हुन् ।
नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेका पाइन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७०० जनाको मृत्यु भएको पाइन्छ ।
उपचार विधि
दिमागको भित्री भागमा रहेको डोपामिन तत्वको कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ ।
यो रोग औषधी सेवनका कारण पूरा निको भने हुँदैन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ ।
उमेर बढ्दै गएपछि रोगको लक्षण पनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना बिरामी ७०० को हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि रु १ लाख दिने व्यवस्था गरेको छ ।