
कर्णाली । नेपालकै बिकट क्षेत्र मानिने कर्णाली प्रदेशको मुख्य ठाउँ खोज्ने हो भने बीरेन्द्रनगर सबैले सम्झने नाम हो । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर आफैँमा एक नगरपालिका पनि हो ।
पहिले चौहानचौर रहेको यस ठाउँको नाम २०२९ पछि वीरेन्द्रनगर राखिएको हो ।
२४५ दशमलव ८५ वर्ग किलोमिटरमा फैलिएको यो पालिका काठमाडौँदेखि लगभग ६०० किलोमिटर उत्तर पश्चिममा रहेको छ ।
समुद्री सतहबाट लगभग ६६५ मिटरमा रहेको यस पालिकाको मौसम मध्यम खालको छ। यहाँ न त धेरै जाडो न त धेरै गर्मी हुन्छ ।
उत्तरमा महाभारत पर्वतको रानीमत्ता र रातानाब्ला छ भने दक्षिणमा चुरे पहाडको हर्रे छ ।
देउरालीका मनोरम पहाडले घेरिएको यो पालिका कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको जस्तो देखिन्छ ।
करिब १६ वटा वडा रहेका यस पालिकाको जनसङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।
ब्राह्मण, क्षेत्री, मगर जातिको बाहुल्यता भएतापनि अन्य जातिका मानिसहरू पनि बसोबास गर्ने यस पालिकामा हिन्दू धर्म मान्नेको बहुल्यता रहेको छ ।
८५.२ प्रतिशत जनसंख्याले नेपाली भाषालाई प्रथम भाषाका रुपमा प्रयोग गरेता पनि यहाँ अन्य भाषाहरु (मगर, थारु, गुरुङ, हिन्दी, नेवार) पनि बोलिन्छ ।
बसाई सराई गरी विभिन्न स्थानबाट आएका जनसमुदायले यहाँको रीतिथिति र संस्कृतिमा विविधता थपेका छन् ।
८० प्रतिशतभन्दा बढी साक्षरता रहेको यस पालिकामा ७९ दशमलव ६५ पढ्न लेख्न सक्ने २ दशमलव २५ पढ्न सक्ने र १८ दशमलव २५ पढ्न लेख्न नजान्ने जनसङ्ख्या रहेको छ ।
पर्यटकीय स्थलहरु
पूर्वबाट बग्ने भेरी नदी र पश्चिमबाट बग्ने कर्णाली नदी यस पालिकाको अमूल्य प्राकृतिक स्रोत हो । यहाँ र्याफ्टिङ गर्न धेरै पर्यटक आउँछन् ।
भेरी नदीमा र्याफ्टिङ सँगै पिपिरास्थित देउती बजै मन्दिर यस पालिकाको बिर्सिनै नसकिने धार्मिक पर्यटकीय गन्तव्य हो ।
पहिले राजी समुदायका व्यक्तिले मात्र पूजाआराधना गर्ने उक्त मन्दिरमा अहिले सबै हिन्दू धर्मालम्बीहरू पूजाआराधना गर्ने गर्दछन् ।

देउती बजै मन्दिर
हिन्दु र बौद्ध धर्मालम्बीहरू को मन्दिरका रूपमा रहेको काँक्रेविहार बाह्रौं शताब्दीका पत्थरहरुले बनेको मन्दिर हो ।
केवल धार्मिक मन्दिरका रूपमा मात्र नभई ऐतिहासिक मन्दिरका रूपमा बाह्य पर्यटनहरू यहाँ अवलोकनका लागि आउने गर्छन् ।

काँक्रेविहार
यसैगरी सुर्खेत बजारको दक्षिण भागमा रहेको बुलबुले तालले पनि आन्तरिक पर्यटन आकर्षण गर्न सफल भएको छ ।
यहाँ माछा मार्न बोटिङ गर्न, पौडिन, धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रमका लागि आउने मानिसहरूको सधैं घुइँचो रहने गर्छ ।

बुलबुले ताल
पछिल्लो समय वीरेन्द्रनगरको मध्यभागका बनाइएको घण्टाघर पनि आकर्षणको केन्द्र बनेको छ ।
यहाँ रमणीय पार्क भएकाले थेरै मानिसहरु साथीभाइसँग घुम्नका लागि आउने गर्छन् ।

वीरेन्द्रनगरमा अवस्थित घण्टाघर
यस पालिकामा पछिल्लो दुई वर्षदेखि जनप्रतिनिधिको रुपमा एमालेले नेतृत्व गरिरहेको छ । अहिले एमालेबाट विजयी भएकी नेतृ मोहनमाया ढकालले मेयरको रुपमा पालिकाको नेतृत्व गरिरहेकी छिन् ।