गोरखा । सहिद लखन गाउँपालिका–८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।
सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष वासुदेव ढकालले जानकारी दिए ।
भवन निर्माणका लागि कूल रु ५१ लाख ७८ हजार आठ सय ४८ खर्च भएको उनले बताए ।
“ठेकेदारसँग ठेक्का सम्झौता गर्दा रु ५३ लाख १३ हजार आठ सय आठमा ठेक्का सम्झौता भएको थियो, वडाध्यक्ष ढकालले भने, “तर निर्माण सम्पन्न हुँदा रु ५१ लाख ७८ हजार आठ सय ४८ भुक्तानी गरिएको छ ।”
स्वास्थ्य केन्द्रको भवन नहुँदा यसअघि महिला लक्षित कार्यक्रम सञ्चालनका लागि एक गैह्रसरकारी संस्थाले बनाइदिएको महिला सामुदायिक भवनबाट केन्द्रले स्वास्थ्योपचार सेवा दिँदै आएको थियो ।
“सामुदायिक भवनमा साधुरो ठाउँ भएकाले पनि सेवा दिन निक्कै समस्या भएको थियो”, उनले भने, “अब आफ्नै जग्गामा भवन निर्माण भएपछि सजिलो भएको छ ।”
गएको असारमा भवन निर्माण सम्पन्न गर्नुपर्ने गरी गाउँपालिकाले श्री कल्याण निर्माण सेवासँग ठेक्का सम्झौता गरेको भए पनि ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो ।
पालिकाले भवन निर्माणका लागि २०७९ माघ ११ गते कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । “सम्झौताअनुसार काम भइदिएको भए २०८० असार २० गतेसम्ममा निर्माण सम्पन्न हुनुपथ्यो”, उनले भने, “समयमा काम गर्न नसकेपछि पहिलो पटक म्याद थप गरिएको अवधिमा कम्पनीले भवन निर्माणको काम सम्पन्न गरेको हो ।”
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय नरमाया अम्गाई, रामकाजी थापा, मिस्टर थापा, कमलादेवी थापा, चन्द्रकुमारी श्रेष्ठ र डल्लीमाया श्रेष्ठले निःशुल्क जग्गादान गरेका थिए।
जग्गादाताले उपलब्ध गराएको जग्गामा केन्द्रको एक तले पक्की भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न सङ्घीय सरकारबाट रु २६ लाख पाउनुपर्ने भए पनि रु २२ लाख मात्र प्राप्त भएको र बाँकी रु २९ लाख गाउँपालिकाले भुक्तानी गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
वडा कार्यालयको भवन नजिकै निर्माण भएको स्वास्थ्य केन्द्रबाट अहिले तीन जना स्वास्थ्यकर्मीसहित चार जनाले सेवा दिँदै आएका छन् ।