
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति आपत्ति व्यक्त गरेको छ ।
लगानी सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन् ।
कांग्रेसले संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित रहेको बताएको छ ।
साथै कांग्रेसले सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरित कार्यको विरोध गर्दै निन्दा गरेको छ । साथै सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्न सचेत गराएको छ ।

कांग्रेसको विज्ञप्ति