हेटौँडा। हेटौँडा उपमहानगरपालिका १६ स्थित सञ्चालनमा रहेकाे शिवम् सिमेन्ट उद्योग लिमिटेड यथास्थितिमा सञ्चालन गर्न नहुने भन्दै स्थानीयवासीहरू आन्दाेलित भएका छन् । दुई दशकदेखि सञ्चालनमा रहेकाे उद्याेगले उद्याेग सञ्चालनमाकाे मापदण्ड पूरा नगरेकाे भन्दै स्थानीयहरू आक्राेशित भएका हुन् ।
उद्याेगले धुँवा, धुलाे र फाेहाेर व्यवस्थापन नगरेकाे स्थानीयवासीकाे आराेप छ । धुवाँ, धुलाे र फाेहाेरले स्थानीयवासीकाे स्वास्थ्यमा गम्भीर असर गरिरहेकाले उद्याेग व्यवस्थित नबनाएसम्म सञ्चालन गर्न नहुने स्थानीयवासीकाे तर्क छ । जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीयको मागको सुनुवाइ र समस्या समाधान गर्न बिहीबार हेटाैंडा उपमहानगरपालिकाका मेयर, उपमेयरलगायत सराेकारवालाहरूकाे बैठकले समिति गठन गरेकाे छ ।
हेटौँडा उपमहानगरपालिकामा बिहीबार बसेको सर्वपक्षीय बैठकले आन्दोलतरत स्थानीयको समस्याको पहिचान गरी सुझाव दिन हेटौँडा उपमहानगरपालिका १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो ।
सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लास्टिकजन्य पदार्थ जलाएको र लामो समयदेखि धुलोका कारण समस्यमा परेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए ।
सर्वपक्षीय बैठकले जनताको गुनासाहरुको समाधान गर्ने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै अनुगमनका लागि समिति गठन गरिएको हो । समितिलाई स्थानीयको समस्याको पहिचान र समाधानका लागि सुझावसहितको प्रतिवेदन एक साताभित्र तयार गर्ने गरी जिम्मेवारी दिइएको छ ।
उद्योगको नियमित अनुमन गर्ने गरी गठित १८ सदस्यीय समितिको सहसंयोजकमा वडा नं. १७ का वडाध्यक्ष उद्धब सत्याल र सदस्य सचिवमा हेटौँडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का छन् ।
उद्योगले सिमेन्ट उत्पादनका क्रममा चुन ढुङ्गाबाट निस्कने धुलो र सञ्चालनका क्रममा आउँने ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा विभिन्न स्थानबाट सङ्कलित फाेहाेर व्यवस्थित गर्नुपर्ने स्थानीयवासीकाे माग छ ।
बैठकमा हेटौँडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले उद्योग सञ्चालकलाई समस्या समाधानका लागि जिम्मेवार बन्न आग्रह गरेकाे बताइन्ग । पालिका सञ्जालसँग कुरा गर्दै मेयर लामाले स्थानीय नागरिककाे चाहना अनुसार उद्याेग व्यवस्थित तरिकाले सञ्चालन भए वा नभएकाे अनुगमन समेत हुने बताइन् ।
नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, नेपाल उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग सङ्घ मकवानपुरका अध्यक्ष बद्रिप्रसाद शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका टोलविकास संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।