सिन्धुली । बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाको नौ स्थानीय तह मध्ये घ्याङलेख गाउँपालिका पनि एक हो।
तामाङ भाषामा घ्याङ भन्नाले देवीदेवता बस्ने ठाउँ र लेख भन्नाले उच्च भूभाग जनाउँछ।
सिन्धुली जिल्लाको पश्चिम उत्तरमा अवस्थित यो गाउँपालिका १३ हजार ६ सय ६१ वर्ग किलोमिटरमा फैलिएको छ।
भौगोलिक रूपले विकट यस गाउँपालिकामा करिब १७ हजार ३ सय ३ जनसङ्ख्या रहेका छन्।
७३ दशमलव ९ प्रतिशत तामाङ जाति बसोबास गर्ने यस पालिकामा अन्य जाति मगर ,नेवार, क्षेत्रीहरू पनि बसोबास गर्दछन्।
तामाङ भाषा सबैभन्दा धेरै बोलिने भाषा भएको यस पालिकामा ७४ प्रतिशत मानिसले बुद्धिस्ट धर्म २२ प्रतिशतले हिन्दू धर्म र अन्य व्यक्तिले क्रिश्चियन, प्रकृति र मुस्लिम जस्ता धर्म अवलोकन गर्छन्।
४९ दशमलव एक प्रतिशत पढ्न लेख्न जान्ने, ५ दशमलव ५ पढ्नजान्ने ,४५ दशमलव ४% पढ्न लेख्न नजान्ने जनसङ्ख्या रहेको यस पालिकामा शैक्षिक क्षेत्रमा खासै प्रगति नभएको देखिन्छ ।
५ वटा वडा रहेको यस पालिकाको औसत तापक्रम २० डिग्री सेल्सियस रहने गर्छ।
कृषि क्षेत्र
यो पालिकाकाे मख्य आम्दानीकाे स्रोत कृषि भएकाले पशुपालनमा गाई, बाख्रा, माछा पाल्ने गर्छन् । त्यसैगरी गेडागुडीमा सीमी, बोडि, केराउ आदि उत्पादन गर्छन् भने व्यवसायिक उत्पादनमा अम्रिसो, बोजो एवम् फलफूलमा सिन्धुलीको पहिचान बनाएकाे सुन्तला, जुनार, कागती आदिकाे उत्पादनमा जोड दिईएकाे छ ।
गाँउपालिकाले कृषकहरुलाई जुनार सुन्तला आलु मकै बालीका लागि बिउमा सहुलियत दिँदै आएको पालिकाका अध्यक्ष जगत बहादुर भाेलानले बताए ।
पर्यटकीय स्थल
महाभारत पहाडको काखमा रहेको यो पालिका प्राकृतिक रूपले धनी रहेको छ।
चैतको महिनामा चारैतिर रातो लालीगुराँस फुल्दा यो पालिकाले सबैको मन लोभ्याउने गर्छ।
प्रसिद्ध बुढा बराजु मन्दिर, फापाचुली डाँडा, निर्माण हुँदै गरेको लाखन गुम्बा ,त्यसैगरी निर्माणाधीन बौद्ध विश्वविद्यालय क्षेत्र, शान्त र सुन्दर मनमोहक हिमालहरूको दृश्य अवलोकन गर्न सकिने सातौं बाटो क्षेत्र यस पालिकाका धार्मिक तथा पर्यटकीय स्थलहरू हुन्।
राजनीतिक नेतृत्व
नेपाली काङ्ग्रेसका नेता जगत बहादुर भाेलानले अध्यक्षका रूपमा यस पालिकाको कार्य सम्हालिरहेका छन् । त्यसैगरी शङ्खरमान घलान उपाध्यक्षका रूपमा कार्यरत छन्।