गौरीगञ्ज गाउँपालिका १ का वडाअध्यक्षले विवाहितलाई बनाइदिए अविवाहितकाे सिफारिस, माेटाे रकम लिएकाे आशंका

Share:

दमक । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षले गैर कानुनी रुपमा सेवाग्राहीसँग मिलेमतो गरी कीर्ते कागजात बनाइदिएकाे पाइएकाे छ ।

वडा नम्बर १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले आर्थिक प्रलोभनमा परी उक्त वडाका चार जनालाई विवाहित भनेर जान्दा जान्दै अविवाहिताको सिफारिस दिएका छन् । निजले २०७७ साल कार्तिक २१ गते एकापरिवारको ओजाहाङग लिम्बूको नाति मेखबहादुर लिम्बूको छोरा ४७ बर्षको दिलप्रसाद लिम्बू , बर्ष ५३ को देवकुमार लिम्बू , बर्ष ५२ कि फिपरानी लिम्बू र ४३ को गंगाप्रसाद लिम्बूलाई अविवाहिताको सिफारिस दिएका हुन् ।

०७७ सालमा समेत राजवंशी सो वडाका वडाध्यक्ष रहेका थिए । उनी स्वयमले उक्त सिफारिसमा ठूलो आर्थिक प्रलोभनमा परि हस्ताक्षर गरेर कागजात बनाएको खुलेको छ । लिम्बूहरुलाई बेलायत जानको लागि अविवाहिताको सिफारिस आवश्यक परेको हुँदा राजवंशीसँग समन्वय गरी मोटो रकम खुवाएर उनीहरूले सिफारिस लिएको श्रोतको दाबी छ ।

११८०५००३ राहदानी नम्बर भएका देवकुमार लिम्बू , ११८०५०१३ राहदानी नम्बर भएकी फिपरानी लिम्बू , ११८०५०१० राहदानी नम्बर भएको गंगाप्रसाद लिम्बू र १२०७०४५० राहदानी नम्बर भएको दिलप्रसाद लिम्बूलाई बेलायत जानको लागि उक्त सिफारिस आवश्यक परेपछि निजहरुले वडाध्यक्ष राजवंशीलाई आर्थिक प्रलोभनमा पारी उक्त सिफारिस लिएको श्रोतले बतायो ।

पत्रकार देखेपछि भागे वडाध्यक्ष

यसै सन्दर्भमा प्रतिक्रिया लिन संचारकर्मीको टोली सोमबार करिव १२:३० बजे वडा कार्यालय पुग्दा कार्य कक्षमा सेवाग्राहीसँग गफ गरेर बसिरहेका वडाध्यक्ष अविवाहितकाे सिफारिस दिएकाे प्रसंग निस्कने बित्तिकै फोनमा बोलेजस्तो गरेर कार्यकक्षबाट बाहिरेका थिए ।

उनलाई उक्त विषयमा बोल्न आग्रह गर्दा पनि एकछिनमा आउँछु भनेर उनी बाहिरिए । निकैबेर नआएपछि उनलाई फोन सम्पर्क गर्दा फोन नउठाई उनी सम्पर्कमा आउन चाहेनन् । यस विषयमा बुझ्न खाेज्दा अहिले पनि उनले फाेन उठाएनन् ।

वडाअध्यक्षले बनाइदिएकाे सिफारिश

थापा मास्के र श्रेष्ठ लण्डन बसेरै बिचौलियाको भूमिका निभाउँदै

काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ५ सुलागाँउ स्थायी घर भएका फत्तेबहादुर थापाको छोरा हाल UK को 20,22,24 central chambers , The Broadway Ealing , London W5 2NR स्थित Everst Low solicitors का संचालक राजु थापा, काठमाडौं घर भई हाल बेलयत बस्ने दिपक मास्के र ललितपुर सातदोबाटो स्थित shrestha career advisor pvt.ltd. का संचालिका समी काछी रोजी श्रेष्ठ सहितले निज लिम्बूहरुलाई बेलायत लगिदिने बहानामा कीर्ते कागजात बनाउनको लागि प्रेरित गरेको श्रोतको दाबी छ ।

निजहरुलाई लण्डन र काठमाडौं बसेर नेपालका भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरुलाई बेलायत लगिदिने बहानामा मोटो रकम उठाएर ठगी गरेको आरोपमा मुद्दा समेत परेको थियो ।

कमेन्ट गर्नुहोस्