
कालिकाेट । बाह्रै महिना एउटै गतिमा सौन्दर्य पस्किरहने कालिकोटको पचाल झरनाको नाउँमा राखिएको एक सुन्दर गाउँपालिका हो पचाल झरना गाउँपालिका।
भौगोलिक दृष्टिकोणले निकै विकट मानिने यस पालिका १ सय ६६ दशमलव ९२ वर्ग किलोमिटरको भूभागमा फैलिएको छ।
पूर्वमा पलाता गाउँपालिका पश्चिममा राजकोट नगरपालिका उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिका रहेको यस पालिका समुद्री सतहदेखि ९६० मिटर उचाइमा रहेको छ।
नौवटा वडा रहेको यस पालिकामा ब्राम्हण जातिका मानिसको बाहुल्यता रहेता पनि अन्य जाति दलित, ठकुरी बसाेबास गर्दछन् ।
१५ हजार ४ सय ८८ जनसङ्ख्या रहेको यस पालिकामा बाहुसंख्यक हिन्दू धर्ममा आस्था राख्दछन्।
कालिकोटकै अग्ला हिमाल पूग र चली पनि यसै पालिकामा जोडिँदा यसको आकर्षण निकै बढेको छ।
गाउँपालिका बीच भागबाट आफ्नो बाटो बनाउँदै नेपालकै अग्लो लामो नदी आफ्नै गतिमा बगिरहेको दृश्य हेर्दा निकै मनमोहक देखिन्छ।
पालिकाको विशेषता
झरना, हिमाल, कडाचट्टान, पहाड, लेकाली मैदान, फाँट, प्राचीन स्थल, मठमन्दिर, पुरातात्विक महत्त्वका धार्मिक तथा पर्यटकीय स्थल, लोकमरी हिमाली, जडीबुटी, वन्यजन्तु याे पालिकाकाे मुख्य पहिचान हाे ।
संस्कृति
धार्मिक र सांस्कृतिक रूपले छुट्टै विशेषता रहेको यस पालिकामा सांस्कृतिक महोत्सव नै मानिने बैठ नाचले यहाँका बालबालिकादेखि वृद्धसम्मलाई आकर्षण गर्छ ।
कला र संस्कृतिमा अनगिन्ती गौरव गाथाहरू बोकेको यस पालिकामा देउडा नाचले आफ्नै एउटा महत्त्व बोकेको छ।

देउडा नाचसँगै रमाउदै
धार्मिक अवस्था
हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको यस पालिकालाई प्राचीन स्थान, मठमन्दिर र पुरातात्विक महत्त्वका सम्पदाले शोभायमान गराएको छ।

पालिकाको एक प्राचीन धार्मिक स्थाल
पर्यटकीय क्षेत्र
पङ्गिनीचौर, काफल डाँडा, बडाकुटे दरबार, फडैचा चौर, जलकुण्ड मन्दिर, पञ्चदेवलजस्ता रमणीय स्थलहरूले याे पालिका भरिपूर्ण छ ।
पाचाहाल झरना, धुल छहरा, बहाल झरना, चुली हिमाल, नौमुले पहाड, त्रिवेणी, दमसिल आदि यहाँका मुख्य पर्यटकीय स्थल हुन्।
संघीय लोकतन्त्रको प्राप्तिका लागि शहीद बनेकाहरूको सम्मानमा बनाइएको शहीद पार्क पनि यही पालिकामा रहेकाे छ।

पचाल झरना नजिकै रहेको शहीद पार्क
यसैगरी यस पालिकामा रहेकाे पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको जिल्ला प्राविधिक कार्यालयले प्रमाणित गरेको पनि छ ।

पचाल झरना
कृषि क्षेत्र
तराईमा हुने लिची, केरा, कटहर, पहाडका सुन्तला, कागती, नासपति, हिमालका स्याउ, ओखर यस पालिकामा लटरम्म फलेको देख्न सकिन्छ।
त्यसैगरी खाद्यान्नमा धान फापर मकैदेखि नगदे बाली चिया खेतीको सम्भावना प्रचुर रहेको छ।
यहाँका वन जङ्गल जडीबुटी आयर्जनको मुख्य स्रोत बन्न सक्छ । लोपउन्मुख रेडपाण्डा, मृग, चराचुरुङ्गी, डाँफे, कस्तुरी आदि पनि यस पालिकामा देख्न सकिन्छ ।
यहाँबाट उत्पादित मार्सी चामल देशैभरि निर्यात गर्ने गरिन्छ ।

मार्सी धानको चामल
पालिकाकाे अघिल्लाे नेतृत्वले पशुपालनलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने गरेकाे यस पालिकाले अहिलेकाे नेतृतवले भने कृषि औजार र सामाग्री वितरण थालेकाे छ ।
राजनीतिक नेतृत्व
अहिले नेकपा माओवादीका नेता देवराज शाहीले पालिकाको अध्यक्षका रूपमा उक्त पालिकाको जिम्मेवारी सम्हालिरहेका छन्। त्यसैगरी सोही पार्टीकी नेतृ सल्किना बम उपाध्यक्षका रूपमा कार्यरत छिन् । पालिका अध्यक्ष शाहीले पालिका सञ्जालसँगकाे कुराकानीमा आफ्नाे कार्यकालभर पालिकामा कृषि, स्वास्थ्य र शिक्षामा परिवर्तन ल्याउने दाबी गरे ।
उनले भने, ‘हामी शिक्षालाई व्यवसायीक, प्राविधिक बनाउने काममा लागिरहेका छाैं । विद्यार्थीलाई बाेर्डिङ स्कुलबाट सामुदायिक विद्यालयमा आकर्षित गर्ने गरी पाठ्यक्रमहरूमा सुधार गरिरहेका छाैं ।’
पालिकाका समस्याहरू
धार्मिक र प्राकृतिक हिसाबले धनी रहेको यो पालिका भौगोलिक हिसाबले भने निकै पछाडि परेको छ।
भौगोलिक विकटता र प्रचारप्रसारको कमीले गर्दा यहाँका अति सुन्दर पर्यटकीय स्थलहरूले बाह्य पर्यटकलाई आकर्षण गर्न नसकेको अध्यक्ष शाही बताउँछन्।
त्यसैगरी, यस पालिकाको विकास र समृद्धिको लागि विद्युत र प्रविधि अत्यावश्यक रहेको जनप्रतिनिधिको भनाइ छ।