यस्ता पो वडाअध्यक्ष ! जसले आफ्नो सरकारी सुविधा जम्मा गरेर सार्वजनिक काम गर्छन्

Share:

सिन्धुली । प्राप्त सरकारी सेवा सुविधा नलिने जनप्रतिनिधि छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर तीनपाटन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष युवराज पहाडीले आफूले पाउने सरकारी सेवा सुविधा पनि सार्वजनिक काम र नागरिकको हितमा खर्च गरेका छन् । उनले जनप्रतिनिधिहरुले लिने गरेको सरकारी बाइक पनि प्रयोग गरेका छैनन् ।

बाइकका लागि आवश्यक मर्मत खर्च, पेट्रोल खर्चलगायतको पैसा जनप्रतिनिधिहरुलाई सरकारी कोषबाटै प्राप्त हुन्छ । यस्तो रकम वर्षभरी जम्मा गर्दा निक्कै हुन्छ । तर वडाअध्यक्ष पहाडीले सरकारी कोषबाट प्राप्त यस्तो रकम पनि नागरिकहरुको लागि शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक चासोमा खर्च गरेका छन् । गएको आर्थिक वर्षमा वडाअध्यक्ष पहाडीले बाइकको लागि लाग्ने पेट्रोल, मर्मतलगायत जम्मा भएको रकम एक लाख ८० हजार रुपैयाँ शैक्षिक भ्रमण, खेलाडी सम्मान, खानेपानीको फिल्टर वितरण, शैक्षिक, सामाजिक तथा व्यवसायिक अन्तक्रियामा खर्च गरेका थिए ।

नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष पहाडीले वडाको विकासका लागि निर्वाचित भएको दुई वर्षमै उदाहरणीय काम गरेका छन् । आफ्नो वडाका विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, विद्यालयमा शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक तथा सरोकारवालाहरुलाई सक्रिय बनाउने, सरकारी सेवामा आवद्व कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्नेलगायतका काम अध्यक्ष पहाडीका उदाहरणीय काम हुन् ।

उनले आफ्नो कार्यकालमा वडाभर बिजुलीको केन्द्रीय प्रसारणलाइन पनि जोडेका छन् । त्यस्तै वडाभर सडक सञ्जाल निर्माण तथा मर्मत पनि गरेका छन् । व्यवसायिक कृषि काममा किसानलाई सक्रिय बनाउन वडाअध्यक्ष पहाडीले हलो वितरण, मल, बिउबिजन वितरणको काम गरिरहेका छन् ।

तीनपाटन गाउँपालिकाको वडा नम्बर ७ भौगोलिक हिसाबले पिछडिएको छ । पहाडी भूभाग भएकाले विकासको काम गर्न खर्चिलो ठाउँ छ । कृषिमा धान, मकै, कोदो र फलफूलमा जुनार, सुन्तला यो ठाउँमा उत्पादन हुन्छ । छरिएर रहेको बस्तीमा भौगोलिक हिसाबले तीब्र विकास गर्न धेरै बजेट आवश्यक हुन्छ । बजेटको सीमितता भए पनि अध्यक्ष पहाडीले आफूले पाउने सेवा सुविधा समेत कटाएर विकासको काम गरिरहेका छन् ।

युवा उमेरमै वडा अध्यक्ष भएका पहाडीले जनप्रतिनिधिहरु सरकारी सेवामुखीभन्दा नागरिकको सेवामा निःशर्त लाग्नुपर्ने सन्देश आफ्नो कामबाट दिएका छन् । तीनपाटनका अन्य वडाअध्यक्षभन्दा फरक भएर काम गरेका पहाडीको कामको गाउँपालिकाभर चर्चा हुने गरेको छ ।

गएकाे आर्थिक वर्षमा तीनपाटन वडा नम्बर ७ का वडा अध्यक्ष युवराज पहाडीले पाएकाे सरकारी सुविधा जम्मा गरी गरेका सार्वजनिक काम

कमेन्ट गर्नुहोस्