पर्वत । पर्वतको महाशिला गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषिमा आधारित थुप्रै कार्यक्रमहरुमार्फत नागरिकलाई सेवा दिइरहेको छ ।
पालिकाका अध्यक्ष इश्वरीप्रसाद भूसालले पालिकामा शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनको सुधार गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको पालिका सञ्जाललाई जानकारी दिए ।
कृषिमा के हुँदैछ ?
महाशिलामा दलित परिवारले पालेका पशु चौपायको निःशुल्क स्वास्थ्य जाँच पालिकाले गरिदिएको छ । पालिकाले बाख्रा वितरण गरेर पशुपालनमा नागरिकलाई सहयोग गरेको छ । पालिकाले गोठ सुधार कार्यक्रम विभिन्न संघसंस्थाको साझेदारीमा सञ्चालन गरेको छ । त्यस्तै तरकारी फर्म, कृषि फर्म दर्ता गराउन सहयोग गर्दै पालिकाले अनुदान रकम दिएर व्यवसायिक कृषि गर्न नागरिकलाई उत्प्रेरित गरेको छ ।
बाँझौ जमिनमा ओखर खेती लगाउने कामको थालनी पालिकाभरु भएको छ । गाउँ छाडेर अन्यत्र बसोबास गर्न गएका नागरिक पनि फर्केर गाउँको बाँझो जमिनमा ओखर बिरुवा रोपेका छन् । पालिका अध्यक्ष भूसालका अनुसार यस वर्ष पालिका भर दश हजार ओखरका विरुवा रोपिएका छन् ।
शिक्षामा के छ नयाँ ?
पालिकाले शिक्षाको सुधारका लागि आवासिय विद्यालय सञ्चालनमा जोड दिएको छ । केही पूर्ण आवासिय र केही आंशिक आवासिय विद्यालय सञ्चालन गरेको पालिकाले यो कार्यक्रम थप विस्तार गर्ने तयारी गरिरहेको छ ।
शिक्षाको सुधारका लागि पालिकाले पालिका स्तरिय निर्धारण परीक्षा सञ्चालनमा ल्याएको छ । परीक्षा पालिकाभित्रै भए पनि प्रश्नपत्र पालिका बाहिरका शिक्षकहरुले बनाउने र उत्तर पुस्तिका पनि पालिका बाहिरका शिक्षकहरुले नै जाँच्ने गरेको पालिका अध्यक्ष भूसालले पालिका सञ्जाललाई जानकारी दिएका छन् । गएको एक वर्षदेखि शिक्षामा सुरु गरिएको यो परीक्षाबाट ४ गुणासम्म सिकाई वृद्धि भएको छ ।
पालिकाका पूर्ण आवासिय विद्यालयमा बिहान, दिउँसो र बेलुकाको खाना, खाजा विद्यार्थीहरुले विद्यालयमै खाने र बेलुका मात्रै घर जाने वातावरण मिलाइएको छ । शिक्षकलाई कम्युटर सीप सिकाइएको पालिका अध्यक्ष भूसालले जानकारी दिए । त्यस्तै विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न प्रोजेक्टरहरु प्रदान गरिएको छ ।
स्वास्थ्यमा के हुँदैछ ?
पालिकाले ७० वर्ष कटेका वृद्धकृद्धाको स्वास्थ्य परीक्षण निःशुल्क रुपमा तीन–तीन महिनामा गर्दै आएको छ । पालिकाले पालिका भरका गर्भवतीको लागि निःशुल्क पोषण सुविधा उपलब्ध गराउँछ । त्यस्तै गर्भवतीको उपचारमा निःशुल्क सवारीसाधन उपलब्ध गराउने काम पनि पालिकाले गर्दै आएको छ । पालिकाले २२ करोडमा १५ शैय्याको अस्पताल निर्माण गरिरहेको छ । सबै वडामा बर्थिङ सेन्टरको सुविधा पनि पालिकाले पुर्याएको छ ।
यातायातमा के छ त ?
पालिकाले यातायातको सुविधाबाट सबै वडालाई जोडेको छ । अहिलेको वर्षदेखि बाह्रै महिना वडाभर सडक सञ्चालन हुने गरी पालिकाले सडको स्तरोन्नती गरेको छ । त्यस्तै पालिकाले पक्की सडकसञ्जालसँग पहुँच बढाउने गरी निर्माण कार्य गरिरहेको पालिका अध्यक्ष इश्वरी भूसालले जानकारी दिए ।
नागरिक आकर्षणको नयाँ स्किम !
पालिकाले पालिकाको भूभाग छोडेर अन्यत्र गएका पालिकाबासीका लागि ‘गाउँ फर्क’ अभियान सञ्चालन गरेको छ ।
पालिकाले गाउँमा जग्गाजमीन भएका तर अन्यत्र बसिरहेका नागरिकका लागि गाउँ फर्किएबापत छ महिनासम्म प्रतिव्यक्ति दुई हजार भत्ता समेत दिने गरेको छ । त्यस्तै गाउँमा घर भत्किएको अवस्था रहेमा एक लाख रुपैयाँ सहयोग रकम समेत गाउँपालिकाले राहत स्वरुप दिँदै आएको गाउँपालिका अध्यक्ष इश्वरी भूसालले जानकारी दिए । तर त्यसका लागि गाउँ फर्किएर गाउँमै बस्ने प्रतिवद्वता पालिकाबासीले गर्नुपर्नेछ ।
नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भूसालले पालिकाको नेतृत्व गरिरहेका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत महाशिला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार इश्वरीप्रसाद भुसालले २ हजार ७५३ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अशोक उच्चै ठकुरीलाई ४४७ मतान्तरले पराजित गरेका थिए ।