वैशाख २० गतेपछि फाराम भर्नेहरुलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा समावेश गरिने

Share:

काठमाडौँ । ‘सीप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् ।

तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ ।

२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो ।

यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।

यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फाराम भरेका छन् । वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी छ ।

यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सीप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको, सीप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइनेछ । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरुको हकमा अर्को व्यवस्था गरिनेछ ।

कमेन्ट गर्नुहोस्