हल्जी र मानसरोबरको साक्षी नाम्खाः जहाँ प्रकृतिले कोरेको छ सुन्दरता

Share:

हुम्ला । कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको सुदूर उत्तरपश्चिम भागमा अवस्थित नाम्खा गाउँपालिका नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको उक्त पालिका २४१९ दशमलव ६४ वर्ग किलोमिटर भूभागमा फैलिएको छ ।

पूर्वमा सिमकोट गाउँपालिका पश्चिम र उत्तरमा चीनको तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेको यस पालिकामा करिब ६ वटा वडा रहेका छन् ।

केवल तामाङ (लामा) जातिका मानिसहरू बसोबास गर्ने यस पालिकाको जनसङ्ख्या करिब ३९०० रहेको छ।

शिक्षा तथा स्वास्थ्य क्षेत्र

१६ वटा विभिन्न तहका विद्यालय रहेको यस पालिकामा दश भन्दा धेरै स्वास्थ्य संस्थाहरू रहेका छन्। पालिकाको केन्द्र एलवाङमा एक धार्मिक विद्यालय पनि सञ्चालनमा रहेको छ ।

धार्मिक आस्था

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेकाले यहाँ प्रत्येक बस्तीमा बौद्ध गुम्बाहरू रहेका छन् । सोनाम लोसारलाई मुख्य चाडपर्वको रूपमा मनाइने यस पालिकामा पृथक खालका हिमाली गरगहना, पोशाकहरु र रीति-रिवाज देख्न सकिन्छ ।

सोनाम लोसारको अवसरमा परम्परागत पोशाकमा सजीएका महिलाहरु

पालिकाको सुन्दरता

नेपालकै उच्च स्थानमा रहेको सुन्दर उपत्यकाको रूपमा परिचित यो पालिकाले धार्मिक सांस्कृतिक र पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको छ।

नाम्खा गाउँपालिका अति दुर्गम हिमाली जिल्लास्थित रहेता पनि यसको प्राकृतिक र सांस्कृतिक सौन्दर्यताले सबैको मन लोभ्याउन सफल भएको छ।

चाँदी झैं टलक्क टल्किएका हिमाल समथर मैदान र तिनै मैदान बीचबाट बग्ने कर्णाली नदी र पारम्परिक घरहरूले यस पालिकालाई शोभायमान गराएको छ ।

कर्णाली नदी

वडा नम्बर ६ मा पर्ने लिमी लाप्चाबाट चिनिएको तिब्बतस्थित मानसरोवर कैलाश पर्वत सहजै अवलोकन गर्न सकिन्छ। यसैबाट कैलाश मानसरोवर को यात्रा पनि गर्न सकिन्छ।

लिमी लाप्चाबाट चिनिएको तिब्बतस्थित मानसरोवर कैलाश पर्वत

ऋतु अनुसारका थरीथरीका फूलले पुरै क्षेत्र सुगन्धित हुने गर्दछ।

प्राकृतिक स्रोत साधन

नेपालकै धेरै तालतलैया भएको उक्त पालिकामा अनगिन्ती तालतलैया रहेको छन् । यहाँ रहेका च्याछहरा, नाैछहरा लगायत मनोरम दृश्यले यस पालिकालाइ थप सुन्दर बनाएको छ।

च्याछहरा

यसपालिकाका विभिन्न खोला क्षेत्रहरू जस्तै च्याङपालुङ ,ग्याउँ खोला, ल्यामजुक ,शाक्यखोला क्षेत्र हिमाल अवलोकन गर्न साथै हिमाली रातोभालु, कालोभालु रातो फ्याउरो, तिब्बती फ्याउरो ,जङ्गली कुकुर र वनचौरी पनि देख्नका लागि उपयुक्त छ।

वनचौरी

साथै यस गाउँपालिकामा विश्वकै दुर्लभ तथा लोपन्मुख चराहरू जस्तै कालीकण्ठे सारस, भारद्वाज, कालिज लगायत ७० प्रजातिका चराहरू पाइने हुनाले यसको महत्त्व झनै उच्च रहेको छ।

कालीकण्ठे सारस

बहुमूल्य जडीबुटीको लागि परिचित यस पालिकामा यार्सागुम्बा, च्याउ, उत्तिस, जटामसी आदि जडीबुटीहरू यहाँका वन क्षेत्रमा उपलब्ध छन्।

यार्सागुम्बा

कृषि क्षेत्र

कृषियोग्य भूमि तथा पशु चौपायाको लागि चरिचरण गर्ने उपयुक्त ठूल्ठूला फाँट रहेकाे यस क्षेत्रमा कृषि र पशुपालन  मुख्य पेशाकाे रुपमा रहेकाे छ ।

उर्वर कृषि योग्य भूभाग रहेको यो पालिकामा उवा, फापर, कोदो, आलु, कागुनो, मकै, स्याउ, ओखर,  खामु जस्ता खाद्य बाली र आलु काउली आदि तरकारी जन्य बाली उत्पादन हुने गर्दछन् ।

पुरानो बाली ‘उवा/मुडुले जौ’

अधिकांश पालिकाका मानिसहरूले व्यावसायिक रूपमा चौरी, जुमा, भेडा, घोडा पाल्ने गरेका छन्।

पर्यटकीय क्षेत्रहरू

धार्मिक सांस्कृतिक र पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको यस पालिकामा ११०० वर्ष पुरानो हल्जी गुम्बाले सबैको मन लोभ्याउन सफल भएको छ।

११०० वर्ष पुरानो हल्जी गुम्बा

सुदूरपश्चिममा पर्ने सैपाल हिमाल यसै गाउँपालिकाको सिमानामा अवस्थित रहेको छ । यसै हिमालको काखमा अवस्थित सुन्दर हेमतालले यो क्षेत्रलाई झनै रमणीय बनाएको छ।

प्रकृति र संस्कृति प्रेमीहरूको लागि उत्कृष्ट ठाउँ

हिमाल र हिमाली रहनसहन चालचलन संस्कृति नजिकैबाट अवलोकन गर्न चाहने जो कोहीको लागि पनि यो स्थान उपयुक्त हुन सक्छ।

मनमोहक दृश्यहरू अवलोकन गर्दै प्रकृतिसँग सामिप्य बढाउँदै पदयात्रा गर्नेहरूको लागि योभन्दा उपयुक्त अन्य कुनै ठाउँ हुनै सक्दैन।

फाइल फोटो

राजनीतिक नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विजयी भएका प्रेमबहादुर लामा अहिले अध्यक्षका रूपमा कार्यरत रहेका छन्।

प्राकृतिक तथा सांस्कृतिक सुन्दरताले भरिपूर्ण रहेकाे यो पालिकामा भाैतिक पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पर्यटकीय व्यवसाय फस्टाउन नसकेको नाम्खा गाउँपालिकाका शाखा अधिकृत मोहनबहादुर शाहीले बताए ।

कमेन्ट गर्नुहोस्