बागलुङ । धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ ।
अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेशनसमेत गराउने योजना बनाएको हो । अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग विशेषज्ञ डा रेखा शर्माले उक्त जानकारी गराएकी हुन् ।
उनले पहिलो चरणमा काठेखोला र बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निःशुल्क उपचार र शल्यक्रिया गराउने बताइन् ।
शर्माका अनुसार अस्पतातले यही वैशाख ३० गते बरेङ, आगामी जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर सञ्चालन गर्न लागिएको हो । त्यसबाहेक शिविरमा फिस्टुला, निःसन्तान दम्पतीको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे परीक्षण गरिनेछ ।
त्यसबाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी गरिने बताइएको छ । निजी संस्थामा गएमा पाठेघरको अपरेसनलगायतका उपचारमा रु डेढ लाखसम्म खर्च हुनेछ ।
सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति रु १३ हजार र अस्पताल विकास समितिले थप गर्ने रु छ हजार गरी रु १९ हजारको उपकरण र औषधि प्रयोगपछि शल्यक्रिया गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए। उनले राज्यको उत्तरदायित्व पूरा गर्ने र गाउँघरका बिरामीको उपचारमा पनि सहयोग गर्ने लक्ष्य राखिएको बताए ।
कार्यक्रममा अस्पताल विकास समिति सदस्य लक्ष्मी जिसी कार्कीले महिलाको शरीर संवेदनशील भएकाले ग्रामीण क्षेत्रमा पुगेर उपचार गर्दा आवश्यक परेमा शल्यक्रियासमेत गर्न चिकित्सक टोली खटाइएको बताए। उनले पश्चिम बागलुङमा यस्ता बिरामीको उपचारमा पहल गर्ने बताए ।
अस्पतालले शल्यक्रिया समय भनेपछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो ।