बागमतीमा आजदेखि नेपालीसँगै तामाङ र नेपाल पनि सरकारी कामकाजी भाषा !

Share:

काठमाडौँ । बागमती प्रदेशमा आजदेखि नेपालीसँगै तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएका छन् ।

प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाको रुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

आज काठमाडौंमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा चामाङ र नेपाल भाषा पनि प्रदेशभर सरकारी कामकाजको भाषा भएकाे घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोमबार काठमाडौं महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्