तनहुँ । तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिक मुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोला मुक्त बनाउने अभियान उद्देश्य सहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
उनले अभियानलाई कार्यान्वयन गर्न १४ वटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताए । नगरपालिका भित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोला मात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।
साथै व्यापारी, व्यवसायीलाई समेत प्लाष्टिक झोलाको सट्टा वैकल्पीक झोला बिक्रि वितरण गर्न अनुरोध गरिएको छ ।
नगर उपप्रमुख इन्दिरा दरैले प्लाष्टिक झोला मुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरिन् ।
नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तहबाट सक्रिय सहभागिता हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
त्यसैगरी बैठकले व्यास नगरपालिका–५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।