![](https://palikasanjal.com/wp-content/uploads/2024/05/bakhara-750x375.jpg)
चितवन । इच्छाकामना गाउँपालिकाले किसानलाई समृद्ध बनाउन र आयआर्जन बढाउन कृषि र पशुपालनमा अनुदान दिने भएको छ ।
अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा गाउँपालिकाका चेपाङ समुदाय लागि परेका छन् ।
इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन्।
गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उनले बताइन् ।
उनले भनिन्, “छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले रु २५ हजार सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ ।”
उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । उनले यस वर्ष छवटा खसीबोका बिक्री गरेर रु ६० हजार आम्दानी गरेको बताइन् ।
वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताइन् ।
उनले भनिन्, “गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।”
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए ।
पालिका सञ्जालसँग कुरा गर्दा उपाध्यक्ष माया सिलवालले भनिन्, ‘ जनतालाई आर्थिक रुपमा सबल बनाउन र उनीहरुको जीविकोपार्जनमा सहजीकरण ल्याउन पालिकाले उक्त अनुदानको व्यवस्था गरेको हो ।’
यस अनुदानले विशेषगरी पालिकामा रहेका चेपाङ समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
इच्छाकामनामा प्रशस्त घाँसे जङ्गल भएकाले समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उनले बताए ।
बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने उहाँ बताए ।
अध्यक्ष गुरुङका अनुसार अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्याउने लक्ष्य रहेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले बताए ।
बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्र्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघिबढ्न मद्दत पुग्ने उन बताए ।
गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ । यही आवमा थप १० वटा खोर निर्माण हुने उनले बताए । गत आवमा दुई सय ८७ वटा खोर निर्माण भएका थिए ।
ज्ञवालीका अनुसार बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।