
काठमाडौँ । रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिका भित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ ।
आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले,विभिन्न स्थानमा राखिएका बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा पार्ने प्रभाव रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई हुनेअसर रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुले रुखलाई पार्ने असर जस्ता विषयमा छलफल गरेको छ ।
उक्त बैठकमा सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट उल्लेखित विषयमा अध्ययन गर्ने निर्णय भएको हो ।
बैठकमा उपप्रमुख डंगोलले भनिन्, ‘एउटा अभ्यास पछ्याउदै सहरका विभिन्न ठाउँमा झिलीमिली हुने बत्ती राखिएका छन् । सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका बत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ । यस्ता बत्ती कहाँ राख्नु पर्ने हो, कति समयका लागि बाल्नु पर्ने हो, बत्ती राख्दाका सकारात्मक र नकारात्मक प्रभाव के हुन्, तथ्य थाहा हुन जरुरी छ । यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउनु पर्छ ।’
सडक किनारामा राखिएका बत्तीको प्रकाशले गाडी चलाउन निकै कठिन भएको छ । आफूले पनि यसप्रकारको कठिन महसुस गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘कुन ठाउँमा कस्तो खालको विजुली आवश्यक पर्ने हो, यसको मापदण्ड आवश्यक छ । वातावरण र इलेक्ट्रिक इञ्जिनियरसहितको टोलीले यसको अध्ययन गर्नेछ । अध्ययनले गरेका शिफारिसका आधारमा यस्ता बत्तीको व्यवस्थापनका बारेमा निर्णय लिइनेछ ।’
सडक किनारामा बत्ती राख्नु उपयुक्त हो कि होइन भन्दा पनि अरुले गरेको अभ्यास पछ्याएको हो । अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘मापदण्ड बनाएर नियमन गर्नुपर्छ ।’
बैठकमा महानगरपालिकाले गर्ने अनुगमन प्रणालीलाई एउटै बनाउनु पर्ने विषयमा छलफल भएको छ । यसका लागि एकीकृत सूचक बनाउन आवश्यक रहेकोमाअधिकारीहरुले जोड दिएका थिए ।
बैठकमा कानुन तथा मानव अधिकार विभाग, राजस्व विभाग, वातावरण व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।