
कालीकोट । नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।
पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका कृषि शाखा प्रमुख भिम बहादुर वलीले पशुपालक किसानलाई वार्षिक रु १० हजार प्रदान गरिने जानकारी दिए ।
यसरी लिन सकिन्छ भत्ता
गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैँसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ ।
मापदण्ड पूरा गरेका किसानहरुले सर्वप्रथम पालिकामा गएर फर्म भर्नुपर्छ साथै वडाबाट सिफारिस लिनुपर्छ ।
त्यसपश्चात पालिकाबाट अनुगमन टोली आई मापदण्द पूरा भए नभएको निरीक्षण गर्नेछन् ।
सबै मापदण्द पूरा भए पालिकाले उक्त किसानको खातामा वार्षिक १० हजारसम्म पैसा जम्मा गरिदिने कृषि शाखा प्रमुख वलीले बताए ।
गाउँपालिका प्रवक्ता प्रदीप बोहराका अनुसार युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको हो ।
“गाउँमा गोठालोलाई हेयका हेरिन्छ”, उनले भने, “यसले गोठालोको सम्मान गर्नेछ ।” “नरहरिनाथ गाउँपालिकामा पशुपालनको प्रचुर सम्भावना छ । यहाँ धेरै भैँसी तथा भेडाबाख्रापालक किसान छन्, उनीहरूलाई पशुपालनमा प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको हो ”।