काठमाडौँ । काठमाडौंकै केन्द्र नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।
२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।
पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।
बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।
वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।
व्यापारिक समूहकाे कब्जामा बाल संगठनकाे जग्गा
नेपाल बाल संगठनको जग्गामा दशकौँदेखि व्यापारिक समूहले रजाइँ गरिरहेकाे अवस्था छ।
संगठन र राज्यका उच्च अधिकारीलाई दबाब र प्रभावमा पारेर व्यापारिक समूह विशाल ग्रुपले झण्डै ३० वर्षदेखि बाल मन्दिरको साढे २८ रोपनी जग्गामा कब्जा जमाएको छ ।
भारतीय मूलका व्यापारीहरूको लगानी रहेको विशाल ग्रुपले नेपालमा राजतन्त्र छँदै उक्त जग्गा हत्याएको थियो ।
नेपालमा राजा फालेर गणतन्त्र आएकै १५ वर्ष बढी भइसक्दा पनि बाल मन्दिरको जग्गा विशाल ग्रुपले नै दोहन गरिरहेको छ ।
सेटिङ र कमिसनमा चरम चलखेल गरेर दशकौँदेखि बाल मन्दिरको जग्गा हत्याएको समूहले संगठनलाई नगण्य भाडा तिरेर चार गुणा बढी मुनाफा लिइरहेको छ ।
बाल संगठनको २८ रोपनी पाँच आना जग्गा २१३२ सालसम्मलाई लिजमा लिएर स्कुल चलाइरहेको बृहस्पति विद्या सदनले थप जग्गा गैरकानुनी रूपमा राय स्कुललाई ‘सबलिज’मा दिएको छ ।
यी दुवै स्कुलमा अधिकांश स्वामित्व व्यापारिक घराना विशाल ग्रुपकोे छ ।
कतिसम्म भने विशाल ग्रुपले संगठनको जग्गा कौडीको भाउमा लिएर अर्कोबाट महँगो भाडा असुली रहेको छ ।
समूहले विस. २०४९ सालदेखि संगठनको जग्गा कौडीको भाउमा भाडामा लिन सुरु गरेको थियो ।
त्यसपछि क्रमशः संगठन राज्यका उच्च पदाधिकारीलाई प्रभावमा पारेर जग्गा बढाउँदै लगेको हो ।
बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यको पालामा समूहले बाल मन्दिरभित्रको जग्गामा कब्जा जमाएको थियो ।
सिंह कांग्रेसका सर्वमान्य नेता स्व. गणेशमान सिंहकी छोरी हुनुहुन्छ ।
बाल संगठनमा महाधिवेशन वा राजनीतिक नियुक्ति दुवै बाटोबाट अध्यक्ष नियुक्त हुने अभ्यास छ ।
बाल संगठनको जग्गाजमिन हिनामिना गरेको भन्दै संगठनका तत्कालीन अध्यक्ष रीता सिंहलाई २०७७ साउन १२ गते पदमुक्त गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले विद्या उपाध्याय न्यौपानेलाई अध्यक्ष नियुक्त गरेको थियो ।
सिंह ३० वर्षदेखि लगातार संगठनको नेतृत्वमा हुनुहुन्थ्यो ।
संगठनको नाममा रहेको ११९ रोपनीमध्ये झण्डै २९ रोपनी जग्गामा विशाल ग्रुपले कब्जा जमाइसकेको छ ।
जग्गा हडप्न विशाल ग्रुपले बृहस्पति विद्या सदनको नामबाट पुरुषोत्तमराज जोशीलाई अगाडि सारेको छ ।
जोशी बृहस्पति विद्या सदनका संस्थापक हुनुहुन्छ । बृहस्पति देशकै ठूलोमध्येको व्यापारिक घराना, विशाल ग्रुपले अधिकांश स्वामित्व ओगटेको स्कुल हो ।
संगठनले बालमन्दिर चलाउन छुट्याएको जग्गामध्ये २८ रोपनी पाँच आनामा विशाल ग्रुपको कब्जामा छ । जग्गा हडप्न विशाल ग्रुपले बृहस्पति विद्या सदन नामको निजी विद्यालयलाई अगाडि सारेको छ ।
नक्सालमा बाल संगठनको जग्गा बृहस्पतिकै लागि भनेर भाडामा दिइएको छ । बृहस्पति विद्या सदन पुरुषोत्तमराज जोशीले स्थापना गरेको विद्यालय हो ।
बृहस्पतिमा जोशी परिवारको सानो मात्र लगानी रहेको छ भने अधिकांश सेयर विशाल ग्रुपकै सदस्यहरूको हातमा रहेको छ ।
यसरी हडपियो जग्गा
२७ माघ २०४९ मा संगठनले घर टहरासहितको जग्गा भाडामा दिन सम्झौता गरेको थियो ।
त्यसबेला नौ रोपनी जग्गा भाडामा दिइएको देखिएको थियो । पहिलो सम्झौता १ फागुन २०४९ देखि १ फागुन २०५२ सम्म तीन वर्षको थियो ।
सम्झौतामा दुवै पक्षले कुनै कारण देखाएर सम्झौता भंग गर्न नमिल्ने, सम्झौता अवधि सकिएपछि नवीकरण गर्न सकिने एकलौटी प्रावधान राखिएका थिए ।
त्यसपछि पुनः २०५३ मा बाल संगठन र बृहस्पतिबीच अर्को सम्झौता भएको छ ।
२०५३ देखि आठ वर्षका लागि बृहस्पतिलाई जग्गा भाडामा दिने निर्णय गरिएको कागजातले देखाउँछ ।
१० माघ २०६१ सम्म संगठनको जग्गा भोगचलन गर्ने अधिकार पाउँदा बृहस्पतिले ९ रोपनीको मासिक भाडा १ लाख ५० हजार रुपैयाँ तिर्ने, भाडा तीन-तीन महिनामा बुझाउने र वार्षिक १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता भएको थियो ।
दोस्रो सम्झौता अवधि १० माघ २०६१ सम्म थियो ।
विशाल ग्रुपले जग्गा हडप्नकै लागि २०५८ मा थप ३० वर्षका लागि तेस्रो बहाल सम्झौता गरेको देखिएको छ ।
यही सम्झौतापछि नाफा कमाउने उद्देश्यले बृहस्पतिले भाडामा लिएको जग्गामा ठुल्ठूला भवन निर्माण गर्ने अधिकार पाएको थियो ।
२०८८ सम्मलाई बाल संगठनको १४ रोपनी नौ आना जग्गा पाइसकेको बृहस्पतिले २०५९ मा थप १३ रोपनी जग्गा लिन सफल भएको देखिन्छ ।
२०७२ मा दुवै पक्षबीच अर्को पूरक सम्झौता गरी पुनः अवधि थप गरेको देखिन्छ ।
यस सम्झौताबाट भाडा अवधि बढाएर २१३२ सालसम्म पुर्याएर संगठनको २८ रोपनी पाँच आना एक पैसा जग्गा हडपेको देखिएको छ ।
२०२१ सालमा तत्कालीन राजपरिवारले जग्गा उपलब्ध गराइदिएर बाल संगठन स्थापना भएको थियो ।
कुल १०२ रोपनी जग्गामध्ये ४९ रोपनी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लिएपछि बाल संगठनसँगको एकल स्वामित्वमा ५१ रोपनी जग्गा छ ।
जसमा २९ रोपनी चार आना जग्गा बाल संगठन र ललितकलाको साझा रहेको छ ।
जसमध्ये साढे २८ रोपनीमा विशाल ग्रुपले कब्जा जमाएको छ ।