मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, नगर परिषद् भेला गरेर पालिका चलाउने जनप्रतिनिधि छान्ने तयारी !

Share:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर र उपमेयरलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेपछि नगरपालिका नेतृत्वविहीन भएकाे छ ।

मेयरकाे अनुपस्थितिमा उपमेयरले पालिकाकाे नेतृत्व गर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ काे दफा १६ मा व्यवस्था छ । तर पालिका प्रमुख र उपप्रमुख नै निलम्बनमा परेकाे बेला पालिकाकाे नेतृत्व कसले गर्ने भन्ने स्पष्ट व्यवस्था छैन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १८ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जहाँ कार्यपालिका बैठकले आफूलाई प्राप्त अधिकार जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई प्रत्यायोजन गर्न सकिने भनिएकाे छ । तर, पालिका प्रमुख तथा उपप्रमुखकाे अभावमा उनीहरुकाे जिम्मेवारी कसले बहन गर्ने भन्ने कुनै स्पष्ट व्यवस्था छैन । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार र उपमेयर उपमेयर रौशन खातुन एकसाथ निलम्बनमा परेका छन् ।

मेयर र उपमेयर दुबै जना एकैपटक निलम्बनमा परेपछि स्थानीय सरकार कसले चलाउने ? भन्ने प्रश्न उब्जिएकाे छ । उक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे पिन निमित्तकाे भरमा चलेकाे छ । जलेश्वर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार साह वडाअध्यक्षसहितकाे नगर भेलाबाट पालिकाकाे नेतृत्व चयन हुनेमा आशावादी छन् । ‘हामी छलफलमै छाैं । बाेर्डकाे बैठक आउँदाे शनिबार बाेलाएका छाैं । कानुनकाे अध्ययन गरेर बाेर्डकाे बैठकबाट पालिकाकाे नेतृत्व कसले गर्ने भन्ने विषय टुंगिन्छ हाेला’, पालिका सञ्जालसँगकाे कुराकानीमा उनले भने ।

साह शिक्षा अधिकृतकाे पदमा रहेर काम गर्ने कर्मचारी हुन् । उनलाई प्रमुख प्रशासकीय अधिकृत पालिकाबाट सरुवा भएर गएपछि विगत चार महिना अघिदेखि तीन पटक म्याद थपेर निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिइएकाे छ । प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको ४ महिनाअघि सो नगरपालिकाबाट बलवा नगरपालिकामा सरुवा थिए । अहिले अख्तियारले उनीविरुद्ध पनि मुद्दा दायर गरेकाे छ ।

आज अख्तियारले सो नगरपालिकाका मेयर, उपमेयर तथा तत्कालिन प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप–प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

आयोगले नगरपालिकाका अधिकृत छैटौं धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव इन्जिनियर दिपेश कुमार साह, कार्यापालिका सदस्य सोगरा खानुत, वडा नम्बर १ का वडा अध्यक्ष अनिल कुमार झा विरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ ।

उनीहरुमाथि नगरपालिकाको वडा नम्बर १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरेको आरोप लगाइएको छ ।

कमेन्ट गर्नुहोस्