सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरूवात भएको छ ।सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा आज अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले महिनावारी अभिसाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताइ ।
अब घरघरमा महिनावारीका विषयमा सचेता जगाउनुपर्ने र त्यसमा सबै सरोकारवालाको साथ अपरिहार्य रहेको उनको भनाइ छ ।
“महिनावारी महिलाको स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया हो ।त्यसैले यसको नाममा महिलालाई छाउबार्न, घरभन्दा टाढा बस्न बाध्यपर्ने काम गर्नुहुँदैन । त्यसले निम्त्याउने जोखिमका बारेमा हामी सबै जानकार नै छ”, उनले भनिन्,“अब महिनावारीको समयमा सरसफाइ तथा स्वच्छतामा ख्यालगरी यो प्रथालाई त्याग्न जरूरी छ ।”
उनले अब महिनावारी शिक्षालाई ग्रामीणस्तरसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिइन् ।आयोजक संस्था सामाजिक संस्था ‘द स्मल वल्र्ड (टिएसडब्यू) का कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकारभएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गरिन् ।
महिला र महिनावारीबिना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रूपमा लिनुपर्ने उनको भनाइ छ ।
दुई सप्ताहसम्म चल्ने अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।