
दिल्ली । दिल्लीको लोकसभा चुनावअघि मुख्यमन्त्री केजरीवाल अन्तरिक जमानतमा केही समय जेलबाट बाहिर बस्न पाउने भएपछि आम आदमी पार्टीलाई फाइदा हुने भएको छ ।
दिल्लीमा हुन लागेको लोकसभाको चुनावमा आम आदमी पार्टीको प्रचारप्रसारलाई मुख्यमन्त्री केजरीवाल जमानतमा जेलबाट बाहिरिने भएपछि राहत मिल्ने समर्थकहरुको दाबी छ । यसलाई भारतीय कंग्रेसले पनि सकारात्मक रुपले हेरेको छ । कांग्रेस र आम आदमी पार्टी मिलेर दिल्लीमा लोकसभा चुनाव लड्दैछन् ।
‘रक्सी घोटाला काण्ड’मा केजरीवाल गएको मार्च २१ म पक्राउ परेका थिए । उनलाई तिहार जेलमा राखिएको थियो । उक्त घोटालामा करौडौं रुपैयाँ पैसा अपचलन भएको आरोप लागेको छ ।
सर्वोच्च अदालतले मुख्यमन्त्री केजरीवालको मुद्दामा सुनुवाई गर्दै आज जुन १ तारेखसम्म उनलाई अन्तरिम जमानत दिएको हो । कथित रक्सी घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवालको मुद्दा न्यायाधीश सञ्जीव खन्ना र न्यायाधीश दिपङ्कर दत्तको इजलासमा थियो । उक्त इजलासले ५ मिनेटभन्दा कम समयमै फैसला सुनाएको हो ।
सर्वोच्च अदालतले आफ्नो फैसलामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई जुन २ मा अदालतसमक्ष हाजिर हुन भनेको छ । सर्बोच्च अदालतमा अरविन्द केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीले जुन ४ मा नतिजा घोषणा नभएसम्म अन्तरिम जमानत दिन आग्रह गरेको थिए ।
तर केजरीवाललाई जुन १ सम्म मात्रै जमानत दिएको हो । यसको साथमा, प्रवर्तन निदेशालय इआइडीले दिल्लीको रक्सी घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा आज नयाँ चार्जशीट दायर गर्न सक्छ । आधिकारिक स्रोतका अनुसार ईडीको यो चार्जशीटमा मुख्यमन्त्री अरविन्द केजरीवालसँगै आम आदमी पार्टीलाई पनि आरोपी बनाउन सक्ने जनाइएको छ ।
आधिकारिक स्रोतका अनुसार ईडीको यो चार्जशीटमा मुख्यमन्त्री अरविन्द केजरीवालका अलावा आम आदमी पार्टी, तेलंगानाका पूर्व मुख्यमन्त्री के. चन्द्रशेखर रावकी छोरी तथा विधायक पार्षद के. कविता र उक्त मुद्दामा संलग्न केही व्यक्ति तथा कम्पनीसहित आधा दर्जन निकायविरुद्ध अभियोगपत्र तयार पारिएको छ ।