
बागलुङ । बागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण गरिरहेको छ ।
नगरपालिकाले अवैध सडक पेटी भत्काएर सडक विस्तारसँगै फुटपाथ निर्माण गरिरहेको हो । अपाङ्गलाई हिँड्न मिल्ने टायल बिच्छ्याएको फुटपाथसहितको सडकले बागलुङ बजारलाई थप शौन्दर्यकरण गर्न थालेको छ भने दुर्घटना न्यूनीकरण गर्ने विश्वास लिइएको छ ।
पहिलो चरणमा बागलुङ बजारको अस्पताल रोडबाट मरेपीपलसम्मको सडकमा फुटपाथ निर्माण गरेको नगरपालिकाले दोस्रो चरणमा ट्राफिक चोकबाट नगरपालिका कार्यालय हुँदै नेपाल टेलिकमको कार्यालयसम्म फुटपाथ निर्माण गरिरहेको छ ।
यस्तै ऐश्वर्य पार्क नजिकै नगरपालिकाले अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरेको छ । फुटपाथको अभावमा पैदलयात्रु र सवारीसाधन एउटै सडकमा हिँड्दा दुर्घटना बढेको भन्दै नगरपालिकाले मापदण्डविपरीतका सडक पेटी हटाएर फुटपाथ निर्माण गरिरहेको जनाएको छ ।
अस्पतालबाट मरेपीपलसम्म नगरपालिकाको रु ३३ लाख ६० हजार र स्थानीय जनसहभागितबाट रु तीन लाख ६८ हजार गरी रु ३७ लाख २८ हजार लागतमा पक्की नालीसँगै नमुना फुटपाथ निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक चोकबाट नेपाल टेलिकमसम्मको सडकमा दुईतर्फीरुपमा फुटपाथ निर्माण गर्न नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । गिरीले नगरपालिकाले रु १९ लाखको लागतमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरेको बताए ।
‘बालमैत्री नगरपालिका’ निर्माणको चरणमा रहेको पालिकाले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने अभियानअन्तर्गत फुटपाथ र शौचालय निर्माण गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक शौचालयसँगै एभरेष्ट बैंकको सहकार्यमा एटिएम र कफीसपसमेत निर्माण गरिएको छ । बागलुङ नगरपालिकामा हालसम्म फुटपाथसहितको सडक थिएन । बागलुङ बजारमा सडक मिचेर बनाइएका पेटी, टहरा तथा अवैध संरचना हटाएर पैदलयात्रीहरुको सहजताका लागि फुटपाथ निर्माण भइरहेको हो ।
“बजार क्षेत्र शौन्दर्यकरणका लागि सडक कालोपत्र, लाइन मार्किङ र जेब्राक्रसिङ र अपाङ्गमैत्री फुटपाथ, सडकमा पेटी मिचेर बनाइएको पार्किङ तथा अवैध संरचना भत्काएर सडक चौडा पार्दै दुईतर्फ नै ब्लक, टायलसहितको फुटपाथ निर्माण गरिएको छ”, श्रेष्ठले भने, “मल्टिकलर ब्लक, टायलसहितको फुटपाथले पैदल यात्रुलाई सहज हुनेछ ।”
नगरप्रमुख श्रेष्ठले बजारलाई बिस्तारै शौन्दर्यकरण गर्ने योजनाअनुसार अहिले अपाङ्गमैत्री संरचना निर्माणले तीव्रता पाएको बताए । अवैद्य संरचना हटाएर छोड्दा समस्या हुने भन्दै ती संरचना भएका स्थानमा फुटपाथ निर्माण थालेको उनको भनाइ छ ।
नगरपालिकाले क्रमशः अवैध संरचना डोजरबाट हटाउँदै आएको नगरपालिकाको बस्ती विकास शाखाका प्रमुख इञ्जिनियर गौरव शर्माले बताए । उनका अनुसार नगरले अवैध संरचना भत्काउन सुरु गरेको विद्युत् कार्यालयबाट होटल दि राजनसम्मको सडक ढलान सम्पन्न भइसकेको छ ।रु २४ लाख लागतमा उक्त सडक विस्तार गरी स्तरीय बनाइएको हो ।
“अपाङ्गमैत्री संरचाना निर्माणलाई पालिकाभरि तीव्रता दिनेछौँ । यो प्रारम्भिक काम हो, बजारभरि दुईतर्फ फुटपाथसहितको सडक बनाउने हाम्रो योजना छ । सडकलाई चौडा बनाएर फुटपाथ बनाउँदा बजारको शौन्दर्यकरण बढ्ने तथा दुर्घटना न्यूनीकरण हुने हाम्रो अपेक्षा हो”, इञ्जिनियर शर्माले भने, “भत्काएर मात्रै हुँदैन भत्काएको क्षेत्रमा तत्कालै काम गर्ने बजेटको सुनिश्चतता गरेर मात्रै निर्माण थालेका छौँ, नगरपालिकाको अवैध संरचना भत्काउने काममा बजारवासीको उत्साहजनक सहयोगले सफलता मिलेको हो ।”
विकासमा पछि परेको बागलुङ बजारको मरेपीपलमा अहिले फुटपाथले यात्रुलाई निकै सहज बनाएपछि स्थानीयले विकासको महसुस गरेका छन् ।