मकालु पालिका: जहाँ पाइन्छ डाँफे, यार्चादेखि मकालु हिमाल तर सदुपयाेगमा सकस

Share:

संखुवासभा । मकालु गाउँपालिका संखुवासभा जिल्लाको पूर्वी पहाडी भेगमा अवस्थित रहेको एक सुन्दर गाउँपालिका हो ।

विश्वकै पाँचौँ तथा नेपालको तेस्रो उच्च हिमालको नाममा नामाकरण गरिएको यस पालिकाको कुल क्षेत्रफल ५१९ दशमलव ४५ वर्ग किलोमिटर रहेको छ।

नुम, पाथिभरा, पावाखोला, याफु र मकालु  गरी जम्मा पाँच गा.वि.स. मिलेर बनेको यस पालिका पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त क्षेत्र हो।

भारत र चीनलाई नेपालको बाटो हुँदै जोड्ने नेपालकै सबैभन्दा छोटो स्थल मार्ग उत्तर दक्षिण राजमार्ग कोशी कोरिडोर यसै गाउँपालिकाको केन्द्र हुँदै उत्तरी छिमेकी चीनको सीमा किमाथाङ्गासम्म पुग्छ।

पहाडी तथा हिमाली भूभागमा अवस्थित रहेको यो गाउँपालिका समुद्री सतहबाट ४४२ किलोमीटरदेखि माथिको उचाइमा रहेको छ। यस गाउँपालिकाको कुल क्षेत्रफलमध्ये कृषि क्षेत्र ५५ दशमलव ५ प्रतिशत जङ्गल २३ दशमलव ७८% बस्ती क्षेत्र ६. ८३% खाली जग्गा १३.६% र अन्य क्षेत्र ०.२९% छ।

यस गाउँपालिकाको पूर्वमा भोटखोला गाउँपालिका र ताप्लेजुङ्ग जिल्ला, पश्चिममा सिलिचोङ गाउँपालिका, सोलुखुम्वु जिल्ला उत्तरमा भोटखोला गाउँपालिका र चीन तथा दक्षिणमा चिचिला र सभापोखरी गाउँपालिका रहेको छ ।

प्राकृतिक तथा भौगोलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित यस गाउँपालिकाको आम्दानीको स्रोत भने पर्यटन, कृषि पशुपालन तथा विभिन्न जडीबुटीहरू हुन् ।

सांस्कृतिक क्षेत्र

आफ्नै मौलिकतामा रमाइरहने यस पालिकाको आफ्नै संस्कार संस्कृति चालचलन रहेको छ। यस गाउँपालिकामा याम्फु, राई, शेर्पा, तामाङ, गुरुङ, कुलुङ र क्षेत्री जातिको बाहुल्यता रहेको छ।

बौद्ध र हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको यस गाउँपालिका सामाजिक सांस्कृतिक रूपमा पनि धनी छ।

पालिकाको सुन्दरता

सेता हिमालहरू, विभिन्न झरनाहरू, सुन्दर तालहरू, चिसोपानी बग्ने खोलाहरू, पाखा पखेरामा फुलेका सुन्दर बोटबिरुवाहरु, ठुलठूला ढुङ्गाका चट्टानहरु र हिउँले ढाकिएको केही स्थानहरूले यस गाउँपालिकालाई साँच्ची नै सुन्दर र मनोरम बनाउनुको साथै स्वर्गकै आभास दिलाउने गर्दछ।

कृषि क्षेत्र

कोदो, फापर, धान, गहुँ, मकै आदि यस पालिकाका मुख्य खाद्य बाली हुन् । आलु , सिमी, साग, मुला, टमाटर आदि तरकारी जन्य खाद्यबालीका रूपमा र स्याउ, सुन्तला  फलफुलजन्य  बालीका रुपमा उत्पादन गरिन्छ ।

प्राकृतिक स्रोत साधन

यसपालिकामा सिजन अनुसारका विभिन्न जडीबुटीहरू (अलैची, यार्सागुम्बा, टिमुर, पाँच‌‌औंले, जटामसी) पाइन्छन्। यहाँ बाघ, भालु, हिमचितुवा, घोरल, मृग जस्ता बन्यजन्तु र डाँफे, मनाल जस्ता सुन्दर चराचुरुङ्गीहरु  पाइन्छन् ।

पर्यटकीय क्षेत्र

मकालु हिमाल : यस गाउँपालिकालाई मकालु हिमालले झनै सुन्दर बनाएको छ। पर्यटकहरूको मुख्य आकर्षक केन्द्रमा रहेको यो हिमाल नेपालको तेस्रो सबैभन्दा अग्लो र विश्वकै पाँचौं अग्लो हिमाल हो।

मकालु हिमाल

रिन्खिमा झरना

विभिन्न तालतलैया तथा झरनाहरू रहेको यस पालिकाको एक अत्यन्तै सुन्दर झरना हो रिङघिङ झरना ।

बर्खा र हिउँदमा नघट्ने र न बढ्ने यो झरनाको विशेषता हो।

खेम्पालुङ्ग गुफा

विभिन्न सुन्दर मूर्तिका चट्टानहरू रहेको यस गुफामा धार्मिक मानिस भए ढुङ्गाबाट पानी आफै रसाउने र पापी मानिस भए सो ढुङ्गा सुक्ने विश्वास रहेको छ ।

राजनीतिक नेतृत्व

अहिले यस सुन्दर गाउँपालिकामा ओङदी छिरिङ शेर्पाले अध्यक्षको रूपमा कार्य गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्