थोत्रा गाडी बेचेकाे भन्दै काठमाडौँ महानगरले सिप्रदीलाई राख्याे कालोसूचीमा, अब कारबाही थाल्ने

Share:

काठमाडौँँ । काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै उक्त कम्पनीलाई कालो सूचीमा राखिएकाे जनाएकाे छ ।

गाडी खरिद प्रक्रियामा भएको अनियमितताबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सिप्रदीले नयाँ मूल्य लिएर पुरानो गाडी बेचेको बताए । परियारका अनुसार पुरानाे गाडी बेचेकाे पाइएकोले सिप्रदीलाई  कालोसूचीमा राखेर कारवाहीको प्रक्रिया अघि वढाइएको छ।

महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार ६ वटा ट्रिपर खरिद गरेकामा २ वटामात्र नयाँ दिएर ४ वटा पुरानो दिइएको पाइएको हो । तर मूल्य भने नयाँ गाडीकै लिएका कारण कालोसूचीमा राखेर कारबाही अघि बढाउनु परेको हो ।

उनकाअनुसार महानगरको वातावरण विभागले ४१ लाख ३ हजार ९९९ रूपैयाँका दरले गाडी खरिद गरेको थियो । कम्पनीले गल्ती गरेकाे भन्दै महानगरले भुक्तानी पनि राेकेकाे छ ।

२०८० माघ १७ मा कम्पनीले महानगरलाई गाडी हस्तान्तरण गरेको थियो । अधिकृत परियारका अनुसार  २०८० बैशाखमा खरिदका लागि बोलपत्र आह्वान भएको थियो ।

वातावरण विभागले गाडी आएपछि गरेको अध्यनयमा ६ वटामध्ये २ वटा मात्र नयाँ रहेकाे देखिएकाले कारबाहीकाे प्रक्रिया अगाडि बढाइएकाे महानगरले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्