
काठमाडौं । राेमानियाले नेपाली कामदार सजिलाे तरिकाले लैजाने तयारी थालेकाे रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेले बताएकी छिन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबीच भएकाे भेटवार्तामा यस्ताे भनिएकाे हाे।
भेटमा रोमानिया र नेपालबीच श्रमलगायत आपसी हितका बिषयमा छलफल भएको थियो । छलफलका दौरानमा श्रममन्त्री अर्यालले नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे ।
त्यस्तै, श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गरे । रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न पनि उनले आग्रह गरे ।
राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्र्याउन चाहेको बताइन् । साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटीलगायतका क्षेत्रमा नेपालीहरुको अत्याधिक माग रहेको उनले बताइन् ।
राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरीदेखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।
नेपाल र रोमानिया सरकारबीच सन् १९६८ को अप्रिल २० मा कूटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकारबीच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको हो । रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् ।