काठमाडाैं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको शव १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको छ ।
बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको हो ।
घटना प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको अनुमान गरिएको छ । शुक्रवार जिरो किलोस्थित मेलम्ची–जिरो किलो सडक खण्डवाट करिव ५० मिटर तल बिरोजे खोल्चा जङ्गलमा शव फेला परेको थियो ।
फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको थियाे । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारजनले बताएका छन् ।
आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लो पट्टिको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँत समेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ बर्षीय सुवेदी बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट निस्किएका थिए । मोवाईल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक बैशाख २४ गते जिरो किलोस्थित एक होटल संचालकको मोवाईल नम्बरवाट घरमा सम्पर्क गरी आफु केही दिन घर नफर्किने बताएका थिए ।
त्यसपछि सम्पर्कविहिन भएका सुवेदीको व्यापक खोजतलाश गर्दा पनि फेला पर्न सकेका थिएनन् । घटना प्रकृति हेर्दा उनलाई हत्या गरेर पहिचान नहुने गरी रुखमा बाँधेर जलाएको आशंका गरिएको छ ।