काठमाडौं । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको थियाे । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काइएकाे जानकारी दिए । आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
‘सडक विभागको २०३५ सालदेखि मापदण्ड अनुसार सडक सीमामा घरहरु बनाएर भाडा उठाइरहे पनि अहिले मात्रै भत्काउन सकेका हौं,’ नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘अहिले सांकेतिक रुपमा ६ वटा पक्की ठूला घरहरु भत्काएर काम सुरु गरेका छौं । अन्य ३२ वटा अस्थायी टहरा, सटरहरु पनि भत्काउँछौं ।’