विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताएका छन् ।
महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उनले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्नेविरुद्ध कडा कारबाही गर्ने स्पष्ट पारे।
उनले नगर क्षेत्रमा सञ्चालित प्रत्येक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको समेत बताए । “महानगरको क्षेत्राधिकारमा रहेका सहकारी संस्थाले बदमासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं”, प्रमुख कोइरालाले भने ।
तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तबी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पर्ल्सको उपयोग, पर्ल्सको परिचय, पर्ल्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिए ।
तालिममा सहकारीविज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गरेका थिए भने ३५ जना लेखा कर्मचारीको सहभागिता थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र एक सय ७३ वटा सहकारी सञ्चालनमा छन् ।