रास्वपा र माओवादीको पार्टी कार्यालयमा फोहोर लिएर गएपछि पक्राउ परेका थिए चार चालक

Share:

काठमाडौं । फोहोर बिसर्जनमा प्रशासनले सहयोग नगरेको भन्दै बालेनले फोहोरका गाडी प्रधानमन्त्री र गृहमन्त्रीको पार्टी कार्यालयमा पठाएपछि काठमाडौंका फोहोर बोक्ने चारजना चालक पक्राउ परेका थिए ।

शनिबार बञ्चरे डाँडामा फोहोर बिसर्जन गर्न गएको गाडीमाथि स्थानीय व्यक्तिहरुको अवरोध गर्दा प्रहरीले सहयोग नगरेको महानगरले जनाएको छ । शनिबारदेखि बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर रोकेको थियो । प्रहरी प्रशासनलाई महानगरले फोहोर बोकेको गाडी ल्याण्डफिल साइटमा पु¥याउन सहयोग गरिदिन अनुरोध गरे पनि प्रहरीबाट अपेक्षित सहयोग महानगरले पाएन् ।

बदलामा सोमबार काठमाडौंका मेयर बालेन शाहको निर्देशनमै फोहोरका गाडी प्रधानमन्त्रीको पार्टी कार्यालय र गृहमन्त्रीको पार्टी कार्यालयमा पठाइएको थियो । फोहोर बोकेर पार्टी कार्यालय आएपछि फोहोर बोक्ने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लियो । रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो भने पेरिसडाँडा गएका ट्रकका चालक भने पार्टी कार्यालयको गेटमै पक्राउ परेका थिए ।

त्यो खबर मेयर बालेन शाहले पाएपछि उनले सत्तासीन दलहरुलाई धम्कीपूर्ण भाषामा सम्मानका साथ चालक रिहा नगरे फोहोर नउठाउने चेतावनी दिए । नभन्दै केही सयममा चालकहरुलाई प्रहरीले रिहा गरिदियो । उता अवरोध भएको फोहोर बिसर्जन गर्न जाने बाटो पनि खुलेको कामनपाले जनाएको छ ।

उनीहरुले फोहोर लिएर जाने गाडीलाई अवरोध गर्ने क्रममा फोहोर बोक्ने निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्