चाँंगुनारायण नगरपालिकामा बुडोल गोरेटो बाटाे विस्तार गर्न स्थानीय नागरिककाे अवराेध

Share:

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीको ताथली पुल बुडोल गोरेटो बाटो विस्तारका विषयमा पीडितहरुले आफूहरुलाई जानकारी नै नदिएर गोरेटो बाटो विस्तार गर्न खोजेको भन्दै दुःख व्यक्त गरेका छन् ।

ताथली पुलदेखि विडोलसम्मको झण्डै पाँंच सय मिटर गोरेटो बाटो विस्तारका लागि भन्दै चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली वडा कार्यालयले आफूहरुलाई जानकारी नै नदिई सिमांकन गरी खेतमा किला गाडेको भन्दै स्थानीयले बिराेध गरेका छन् ।

ताथली पुलदेखि बुडोलसम्म हाल तीन फिट चौडाइको बाटो कायम छ । त्यही बाटो १३ फिट हुने गरी विस्तार गर्न वडा कार्यालयले काम थालेको हो । त्यस क्रममा ताथली पुलबाट कामसमेत सुरु भएको छ । साथै बुडोलबाट पनि काम सुरु गरिएका छन् । तर त्यसबीचमा पर्ने खेतहरुमा गोरेटो बाटो विस्तारका लागि सिमांकन गरी किला गाड्दा स्थानीय तहका प्रतिनिधिले आफूहरुलाई कुनै खबर नै नगरी आआफनो खेतहरुमा किल्ला गाडेको स्थानीयहरुले बताए ।

खेतमा किला गाडेको केही दिनपछि मात्रै आफूहरुलाई जानकारी भएको उनीहरुले बताए । उनीहरुले गोरेटो बाटो विस्तार विरोधी आफूहरु नभएको तर आफ्नो व्यक्तिगत सम्पतिमाथि मनोमानी गर्न नपाइने बताए ।

एकजना पीडित तुल्सीनारायण लाखेमरुले आफूहरुलाई मौखिक लिखित केही जानकारी नै नदिई आफ्नो खेतमा सिमांकन गरी किला गाडिएको भन्दै गुनासाे गरे। ‘हामी यो किल्लालाई तुरुन्त उखेलेर फालिदिन पनि सक्छौं, उनले भने, ‘वडाले सल्लाह विना नै जबरजस्ती गोरेटो बाटो विस्तार गर्न खोजेको प्रमाण देखाउन हामीले अन्य पीडित साथीहरुलाई पनि अनुरोध गरेर राखिराखेका छौं ।’

अर्का पीडित लक्ष्मण फेलूले बाटाे विस्तारका क्रममा कोही विस्तार हुने खतरा रहेको र कोहीलाई भने एकदमै धेरै झ्याप्पै फाइदा हुने देखिएकोले यो सबै विषयलाई नमिलाई गोरेटो बाटो विस्तार गर्न नदिने बताए । गोरेटो बाटो विस्तार गर्दा कोही पूरै विस्तापित नै हुने, कोहीको जग्गा धेरै बाटोमा पर्ने त कसैको केही पनि जग्गा नकटी ठ्याकै बाटोको मोहदा पर्न जाने अवस्था रहेको उनले बताए । यसो हुन नदिन यसका लागि लगत कट्टा गर्नु पहिलो आवश्यकता रहेको फेलूकाे माग छ ।

पीडित रामसुन्दर लाखेमरुले बाटो विस्तारको क्रममा आफ्नो मात्रै डेढ रोपनी भन्दा बढी जग्गा बाटोले खान लागेको भन्दै चिन्ता व्यक्त गरे । आनाको लाखौं रुपैयाँं पर्ने आफ्नो जग्गा बाटोले खाने गरी कुनै हालतमा बाटो विस्तार गर्न नदिने उनले बताए ।

पीडितलाई मुआव्जा दिएर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए । आफूहरुले विरोध गर्ला भनेर नै वडाले सिमांकन गर्दा विरोध गर्नसक्ने पीडितहरु जतिलाई नबोलाई गोरेटो बाटो विस्तार गर्दा फाइदा पुग्नसक्ने सहमति जनाउने खालका सरोकारवालाहरुलाई मात्रै खबर गरेको आरोप उनले लगाए । अझ केही पीडितले खेतको बीचमा दुई चार जनाले दुई चार आना जग्गा किनेको र उनीहरुको हितका लागि वडाले नियोजित रुपमा गोरेटो बाटो विस्तार कार्य अगाडि सारेको आरोप लगाए ।

चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीका वडा अध्यक्ष गणेश त्यातले कसैलाई पेलेर बाटो विस्तार गर्ने उद्देश्य आफूहरुको नरहेको स्पष्ट पारे । ‘कोही पीडित बाटो विस्तार गर्न चाहनुहुन्न भने हामी जवरजस्ती वाटो विस्तार गर्दैनौं, उनले भने, बाटो विस्तार पछि फाइदा उहाँंहरुलाई नै हुने हो, हामीलाई होइन ।’

उनले सिमांकन अगाडि सार्वजनिक सूचना जारी गरेको जनाए । त्यो सूचना कसैकसैले थाहा नपाएको हुनसक्ने उनले स्पष्टीकरण दिए । पछिल्लो बुधबार सिंमाकन कार्य भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्