धनुषा प्रहरीले खुलायो सिरोहियालाई पक्राउ गर्ने आधार र कारणहरु

85
0
Share:

काठमाडौँ ।  कैलाश सिरोहिया पक्राउ भएपछि विभिन्न सञ्चार गृहका सम्पादक र राजनितिक दलहरुले यसलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार भनिरहँदा धनुषा प्रहरीले अदालतमा सिरोहियालाई पक्राउ गर्ने  कारण खुलाएको छ ।

प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको थियो । नागरिकताको विवाद जस्तो व्यक्तिगत विषयलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोडेर  प्रेस स्वतन्त्रतामाथि प्रहारका रुपमा लिइएको छ। यसै बीच जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता कसुर र किर्ते लगायतको कसुरमा अनुसन्धानका लागि  सिरोहियालाई पक्राउ गर्न खुलाएको ६ आधारका आधारमा जिल्ला अदालतले अनुमति दिएको खुलाएको छ ।

प्रहरीले खुलाएको पक्राउको आधार र कारणमा सिरोहियाले लिएको नागरिकताको नम्बर पहिल्यै अर्काको नाममा जारी भइसकेको, दाइहरूको नागरिकता अङ्गीकृत भए पनि सिरोहियाको जन्मसिद्ध देखिएको, ढड्डामा नागरिकता जारी गर्ने अधिकारीको नाम र हस्ताक्षर नरहेको उल्लेख गरिएको छ।

प्रहरीले नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९  लेखेको तर जन्म मितिमा उल्लेखित अङ्कको आकृति, प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकाले कोष्टमा जन्म मिति थपी किर्ते गरेको दाबी समेत गरेको छ।

प्रहरीले खुलाएको आधार र कारणका आधारमा अदालतले सिरोहिया पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिपछि धनुषाले काठमाडौँमा पक्राउ गरी पठाउन पत्राचार गरेपछि सिरोहिया  पक्राउ परेका थिए। उनी धनुषाको प्रहरी हिरासतमा छन्।

 

कमेन्ट गर्नुहोस्