‘सीप मेला’ बाट तालिम लिएकाहरुलाई रोजगारी दिन तयार रहेको निजी, उद्योग वाणिज्य तथा शैक्षिक क्षेत्रको प्रतिवद्धता

Share:

काठमाडौँ । निजी, उद्योग तथा वाणिज्य क्षेत्र र शैक्षिक क्षेत्रले टुँडिखेलबाट उत्पादन भएका सिपयुक्त जनशक्तिलाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । काठमाडौँ महानगरपालिकाले २०८१ सालको शुभारम्भ २०८१ जनालाई सिपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रनिङ’ उपलब्ध गराउने लक्ष्य हासिल गर्न रोजगारदाताहरुसँग मंगलबार साँझ तालिम सञ्चालन भइरहेको स्थान टुँडिखेलमा गरिएको अन्तरक्रियाका क्रममा उनीहरुबाट यस्तो प्रतिवद्धता प्राप्त भएको हो ।

अन्तरक्रियामा निजी, उद्योग वाणिज्य, शैक्षिक, सामाजिक तथा गैरसरकारी एवं दातृ संघसंस्थाका प्रतिनिधिले धारणा राखेका थिए । ‘महानगरपालिकाले सञ्चालन गरेको तालिमले रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने एउटा पक्ष भयो । योभन्दा ठूलो चाहिँ नेपाल आफैँभित्र ठूलो सम्भावना छ, भनेर दिएको सन्देश धेरै प्रभावकारी छ ।’ उनीहरुले भने, ‘सर्वसाधारण जीवनस्तर सुधार गर्नदेखि बौद्धिक पलायन रोक्नसम्ममा यो कार्यक्रमले मद्दत गर्नेछ ।’

यस क्रममा उनीहरुले निजी, उद्योग तथा वाणिज्य र शैक्षिक क्षेत्रको अन्तरसम्बन्ध र समन्वयात्मक विकासका लागि नीति निर्माण जोड दिए ।उनीहरुको प्रतिक्रिया सुनिसकेपछि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘अन्तरसम्बन्धित क्षेत्रको विकासका लागि महानगरपालिकाको क्षेत्रभित्र पर्ने विषयमा हामी आफैँ नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्छौं । हाम्रो क्षेत्रमा नपर्ने विषयसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश र संघ सरकारलाई शिफारिस गर्छौं । नीति तर्जुका लागि आग्रह गर्छौं।’

‘श्रम क्षेत्रमा मानिसहरु गुनासो हामीले सुनिरहेका थियौँ । हाम्रो कुरा सरकारले सुन्दैन । हाम्रो समस्या देख्दैन । हामीलाई गन्दै, गन्दैन । हामीले भनेको मान्दैन । उनीहरुको यो दविएको आवाजलाई उठाउन हामीले यसअघि कोही पनि नहिँडेको बाटो बनाउन थाल्यौँ । नयाँ बाटो भएकोले हिँड्न हामीलाई ठूलो चुनौती छ । यसकारण हामी जोखिम र चुनौती वहन गर्दै गन्तव्यतिर बढिरहेका छौँ ।’ उनले भनिन्, ‘यहाँहरुको साथ र सहयोगबाट हामी लक्ष्यमा पुग्दैछौँ । यसप्रकारको सहकार्यका लागि खुला छौँ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मेला सञ्चालन गर्न अहिलेसम्म गरिएका काम र अवको योजनाका विषयमा कुरा गर्दै, अहिले प्राप्त भएको उपलब्धीमा निजी क्षेत्रको सहभागिता, प्रमुख भूमिका रहेको उल्लेख गरे । ‘युवा उमेरका व्यक्तिहरुको मनमा, म आफैँ पनि केही गर्न सक्छु । घर छोडेर विदेश जानु पर्दैन भन्ने भावना जागृत हुनु तालिमको महत्वपूर्ण पक्ष हो ।’ उनको धारणा थियो ।

अन्तरक्रियाको थालनीमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, सीप मेलाको पृष्ठभूमि, आवेदन र आवेदकहरुको संख्या, उनीहरुको मनोविज्ञान, तालिमका साझेदारहरुको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए । २०८१ वैशाख १९ गते उद्घाटन भएपछि सुरु भएको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम कक्षा सकिएका छन् । अहिले ती कक्षाहरु दोस्रो चरणमा सञ्चालन भइरहेका छन् । झाले भने, ‘पहिलो चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी हुनुभयो । ज्येष्ठ ६ गते आइतबारदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन् ।’

उनको प्रस्तुतिपछि सहभागीहरुले तालिमको गुणस्तरका लागि अवलम्बन गरिएका अभ्याससँगै तालिमपछिको रोजगार, स्वरोजगार र साझेदारीका लागि महानगरपालिकाको योजनाका विषयमा जिज्ञासा राखेपछि सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले, १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) ले पाठ््यक्रम मस्यौदा गरेको, मस्यौदामाथि नेपाल उद्योग परिसंघबाट पृष्ठपोषण लिएर स्वीकृत गरिएको जानकारी दिए। तालिम सञ्चालन गर्नु पूर्व उद्योग र वाणिज्य क्षेत्रबाट कुन विधाका जनशक्तिको धेरै माग छ भनेर गरिएको अध्ययनका आधारमा तालिमका विषय र क्षेत्र छानिएको उनको भनाइ थियो ।

पूर्णकालीन र पार्ट टाइम (आंशिक) रोजगारीको अवधारणा बनाइएको छ । व्यापार व्यवसाय गर्न चाहनेहरुका लागि प्राविधिक सहयोग, कानुनी परामर्श, व्यवसायिक परामर्श, व्यापार वृद्धि गराउने सीप दिन इन्टरप्रेनरसिप एण्ड विजनेस इकुभेसन सेन्टर सञ्चालन गर्ने योजना छ । व्यापार गर्न कोवर्क स्पेसको अवधारणामा काम हुनेछ । यसमा ३ महिनादेखि ६ महिनासम्म तोकिएको स्थानमा निःशुल्क व्यापार गर्ने व्यवस्था हुनेछ ।

ढकालले भने, ज्ञानमार्फत क्षमता बढाउन चाहनेकाहरुका लागि ३ चरणमा उद्यशीलता कार्यशाला गोष्ठी हुनेछन् । पहिलो चरणमा ३ दिवसीय कार्यशाला र तालिम, दोस्रो चरणमा प्यानल डिस्कसन, ३ बर्ष नपुगेका स्टाट अपलाई स्केल अप गर्ने कार्यक्रम र तेस्रो चरणमा स्थापित व्यापारीहरुसँग १ दिवसीय अन्तरक्रियात्मक संवाद गरिनेछ । यी कार्यक्रमका लागि निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिइनेछ ।

कार्यक्रममा व्यक्त धारणाहरु

सौरभ ज्योतीः ज्योती समूह

हामी रोजगारी दिन तयार छौँ । यससँगै आगामी दिनका कार्यक्रममा सहकार्य गर्न तयार छौँ । आगामी दिनका कार्यक्रमलाई उद्यमशीलसहित कार्यक्रमलाई एकीकृत अवधारणामा रुपान्तरण गरेर सञ्चालन गरौँ ।

दिपक श्रेष्ठः नेपाल च्याम्बर अफ कमर्स

उद्योगहरुमा कस्ता जनशक्ति आवश्यक छन् । माग अध्ययन गरौँ । मागअनुसारका तालिम प्रदान गरौँ । सबैभन्दा महत्वपूर्ण काम चाहिँ म नेपालमै बसेर काम गर्छु । सम्भावना यहीँ छ भन्ने, भावना जागृत गराउनु पर्नेछ । यससँगै अन द जब ट्रेनिङ्लाई श्रम ऐनमा आवद्ध गराउन आवश्यक छ ।

विनायक शाहः होटल संघ नेपाल

गुणस्तरीय कामका लागि सीपयुक्त जनशक्ति आवश्यक छ । हस्पिटालिटीमा सिप सिकेका जनशक्ति सबैलाई हामी रोजगार दिन सक्छौँ । अहिलेको समस्या भनेको विदेश जान प्रक्रिया र काम सँगै थाल्ने, विदेश जाने निश्चित भएपछि काम छाड्ने प्रवृत्तिले दुःख भएको छ । काम थालेपछि कम्तीमा २, ३ बर्ष काम नछोड्ने भए रोजगारी दिन पनि सहज हुन्थ्यो । यस्का लागि होटल व्यवस्थापनले गर्ने दायित्व पूरा गर्न तयार छौँ ।

चन्द्रकान्त अधिकारीः नेपाल उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रले प्राविधिक जनशक्तिको अभाव महसुस गरिरहेका छन् । हामी रोजगारी दिन सक्छौँ । यससँगै उद्योग, वाणिज्य क्षेत्रबाट तालिमको अवलोकनको मात्रा बढाउनु पर्छ । यसले तालिमको गुणस्तरमा रोजगारदाता ढुक्क हुन सक्छन् ।

रामहरि सिलवालः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), केन्द्रीय समिति

उच्च शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले वैङ्कहरुमा मात्र इन्टर्न गर्न पाएका छन् । यस्तो अवसर उद्योग क्षेत्रमा पनि सिर्जना गर्नुपर्छ । सार्वजनिक महत्वका विषयमा नीति तथा कार्यक्रम बनाउँदा निजी क्षेत्रलाई सहभागी गराउन भयो भने कार्यान्वयनमा सहज हुन्छ । सरकारले लगानी सम्मेलन लगायत निजी क्षेत्रसँग सम्बन्धित सम्मेलनहरु त गर्ने गरेको छ तर हेर्ने दृष्टिकोण स्पष्ट हुन सकेको छैन । यसलाई स्पष्ट बनाउन आवश्यक छ ।

आनन्दकुमार यादवः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), वागमती प्रदेश

वागमती प्रदेशमा उच्च शिक्षा अध्यापन गराउने ४ सयभन्दा धेरै शिक्षालय छन् । हामीसँग सम्बन्धित क्षेत्रमा तालिमबाट उत्पादन भएका गुणस्तरीय जनशक्तिलाई रोजगारी दिन कुनै समस्या छैन ।

विष्णु रिमालः राजनीतिक प्रतिनिधि

रोजगारमा जान चाहनेहरुका लागि श्रम बजार बनाउनु पर्छ । स्वरोजगार बन्न चाहनेका लागि उत्पादित सामान खपत हुने बजार बनाइदिनुपर्छ । तालिमसँग सम्बन्धित यी २ वटा क्षेत्रमा काम गर्न महानगरपालिकाले थालेको अभियानलाई केन्द्र र संघ सरकारले सहयोग गर्नुपर्छ । महानगरपालिकाले थालेको कामलाई दिगो उपयोगमा ल्याउन संघ र प्रदेश नीतिका लागि समेत महानगरपालिकाको सक्रियता उपयुक्त हुन्छ ।

प्रकाश श्रेष्ठः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)

सकारात्मक कामको थालनी हो । यसलाई दिगो उपयोगमा ल्याउनका लागि गुणस्तर र उत्पादित जनशक्ति खपत हुने स्थानको बारेमा थप काम गरौँ ।

ज्योत्स्ना श्रेष्ठः उद्योग वाणिज्य महासंघ

तालिमसँगै काम ठुलो र सानो हुँदैन भन्ने भावना विकास गराउनु पर्ने देख्छु । विदेशमा गएर जे पनि गर्ने स्वदेशमा काम गर्नु परे, यस्तो पनि गरिन्छ भन्ने सोचलाई बदल्नुपर्छ । अर्कोतिर श्रमका मानिसहरुलाई सम्मान पनि दिनुपर्छ । मेलाबाट उत्पादन भएका जनशक्तिको लिष्ट पठाइदिनु । हामी सम्भव भएसम्म धेरैलाई रोजगारी उपलब्ध गराउँछौ।

रञ्जितकुमार पोडारः कम्प्युटर एशोसिएसन नेपाल

उद्योग र शिक्षा क्षेत्रका बिचमा सम्वाद छैन । कम्प्युटर इञ्जिनियर अध्ययन गर्ने व्यक्तिहरुले इन्टर्न गर्न पाएका छैनन् । चिनेका जानेका मान्छेलाई समाएर गर्नु पर्ने अवस्था छ । यो अवस्थामा सुधार गरौँ । कम्प्युटर अध्ययन गरिरहेको विदार्थीहरुलाई उद्योगहरुमा इन्टर्नको अवसर प्रदान गर्न सकियो भने युवाहरुमा पढेर विदेश जाऔँ भन्ने सोच्दैनथे कि ।

नरेन्द्र अधिकारीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)

तालिम लिएकालाई उद्यमी बनाउने र स्वरोजगार बन्न चाहनेका लागि लगानी कसरी र कस कसबाट गराउने योजनामा छ, महानगरपालिकाले अब यसका विषयमा छलफल चलाउनुपर्छ । (यो प्रश्नको जवाफ मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले दिएका थिए । जवाफ माथि लेखिएको छ ।)

कविन्द्र पुडासैनीःवाटर एड

विदेश जाने युवाहरुलाई नेपालमै केही गर्न सक्छौँ, भन्ने मनोविज्ञान विकास गराउन सिप मेलाले ठूलो भूमिका खेलेको छ । सिपमूलक तालिममा आकर्षण देखियो । अब तालिम लिएकालाई स्वरोजगार वा रोजगारमा विश्वस्त बनाउनु पर्छ ।

मुकुन्दमणि खनालःसंयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम

सीपहरुलाई सामयिक बनाउँदै लैजान काम गर्नु पर्ने बेला भएको छ । अहिलेको आवश्यकता ग्रीन स्कील हो । यसका लागि महानगरपालिकाले आउँदा दिनमा कार्यक्रम बनाउँछ भन्ने, ठानेका छौँ ।

बद्री दाहालःनेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफ–पीटीइएन)

कसैले १ घण्टा काम गर्छु भन्यो भने यसलाई काम दिने र पारिश्रमिक दिने व्यवस्था गर्नुपर्छ । नेपालीहरु वैदेशिक अध्ययनमा गएर कमाउँदै पढ्दै गर्न सक्छन् भने नेपालमा पनि त्यो अवसर हुन सक्छ । हामीले पार्ट टाइम कामको पनि नीतिगत प्रबन्ध गर्नुपर्छ । यसले रोजगारीका क्षेत्रमा नयाँ आयाम थपिन्छ । यस ठाउँमा व्यवसायिक तालिमले काम गर्छ ।

डा. उषा भण्डारीः स्वीस डिभलपमेन्ट कर्पोरेसन

सीपमूलक तालिमलाई स्तर निर्धारण र योग्यता प्रमाणिकरण गर्ने संयन्त्र राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली (एनभीक्युएस) सँग यस्ता तालिमहरु आवद्ध गराउनु पर्छ । यसले गुणस्तर एकिन गर्न सजिलो हुन्छ ।

प्रकाशकुमार पौडेलः काठमाडौँ विश्वविद्यालय, शिक्षा विभाग

प्याराडाइजम सिफ्ट गर्दै आऔँ । सिप र रोजगारी एकीकृत बनाउन सके नतिजा सुनिश्चित हुन्छ । नव प्रवर्तनमा आधारित तालिम र परम्परागत ज्ञान सीपसँग सम्बन्धित तालिमको माग रहेको महानगरपालिकाकै मेलाबाट पनि देखियो । पुरोहित र ज्योतिष विधामा तालिम दिएर महानगरपालिकाले यसलाई स्थापित गरेको छ ।
जित राघवः स्मार्टर (निजी क्षेत्र)

घरमा पालेको कुखुराले घरमै अण्डा पार्नुपर्छ । छिमेकीकोमा गएर अण्डा पार्यो भने कुखुरा पालेको काम लाग्दैन । आफूले सिप दिने दक्ष जनशक्ति उत्पादन भएपछि विदेशमा सेवा गर्न जाने भए तालिम दिएको लगानी व्यर्थ हुन्छ । यति मनन गरिदिनुहोला ।

चिरञ्जीवि अधिकारीः कम्प्युटर एशोसिएसन नेपाल
शिक्षा, तालिम र रोजगारको क्षेत्रलाई अन्तर सम्बन्धित बनाउन तथ्याङ्क र प्रणाली चाहिन्छ । यसका लागि सहकार्य गर्न हामी तयार छौँ । अब सफ्ट स्कीलमा पनि काम गर्न पर्छ ।

अच्युत नेपालः नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ

छोटो अवधिको व्यवसायिक तालिममा आकर्षण छ भन्ने देखियो । अब १ महिने, ३ महिने, १ बर्षे कोर्षका लागि पनि आकर्षण बढाउनु पर्छ । अहिले व्यक्तिहरुमा धैर्यता देखिँदैन । सिप, शिक्षा, उद्योग र वेरोजगारको आपसी सम्बन्धबाट सबै पक्षमा लाभ हुन्छ । यसमा लेभल १ देखि ८ औँ लेभलसम्मको प्रणाली जोड्नु पर्छ ।

वैङ्कहरुले स्वरोजगार हुन चाहनेहरुका लागि सुलभ ऋण प्रवाह गर्नुपर्छ । यसमा आफूले तालिम दिएकाहरुलाई महासंघ जमानी बसिदिन सक्छ ।

प्रशिक्षार्थी छनोट प्राथमिकता

निःशुल्क सीपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका छन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।

सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाकाअनुसार वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेर तालिममा सहभागी गराइएको छ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकता र त्यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीकाअनुसार आवेदन दिएका तर मेलाको तालिममा छुटेकाहरुलाई महानगर गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि, कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्र र पेशाका तालिम दिइनेछ ।

तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।

यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्/ड्रेस मेकिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।

चाप भएका पेशा

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट क्षेत्रका वारिस्ता, फास्ट फुड कुक, वार टेन्डिङ्, वेकरी पेशामा, व्युटिसियनतर्फ हेयर कट, मेक अप, नेल आर्ट पेशामा यस्तै डिजिटल मार्केटिङ्क पेशामा प्रशिक्षार्थीको धेरै चाप छ ।

कम चाप भएका पेशाहरुमा मेकानिकल, वेल्डिङ्, पुरोहित, स्क्रीन प्रिन्टिङ् पेशा छन् ।

कमेन्ट गर्नुहोस्