
काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकमा आज कांग्रेसबाट नयाँ प्रस्ताव आएकाे हाे।
आज सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेकाे बैठकमा कांग्रेसले गृहमन्त्री रवी लामिछानेकाे नाम किटान नगर्ने भए उनकाे नाम ‘मुछिएका’ सहकारीकाे नाम किटान गर्नुपर्ने गरी नयाँ प्रस्ताव ल्याएकाे हाे । कांग्रेसबाट सहकारी छानबिनकाे विषयमा आएकाे नयाँ प्रस्ताव ल्याएपछि उक्त विषयमा सत्तारूढ दलका नेताहरु शीर्ष नेताहरूसँग छलफलमा बसेका छन् । आज बसेकाे संसद बैठक पनि यही विषयलाई लिएर सञ्चालन हुन सकेन।
यसअघि बिहीबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफूहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका थिए ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारबाही अगाडि बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।