वन अतिक्रम गरेको आक्रोशमा उपभोक्ता समितिले काटेर फ्यालिदिए हजारभन्दा बढी स्याउका बोट

Share:

कर्णाली । जुम्लाको सिंजा गाउँपालिका अन्तर्गत वडा नम्बर ६ मा रहेको भाडगाउँको सानीपातल काफलबारी भन्ने स्थानमा लगाइएको हजारभन्दा बढी स्याउका विरुवा काटेर फ्यालिएको छ ।

स्थानीय नागरिकले वर्षौअघि लगाएको स्याउ अहिले फल दिने अवस्थामा रहेको भए पनि जग्गा विवादका कारण उक्त ठाउँमा लगाइएका हजारभन्दा बढी स्याउका विरुवा काटेर फ्यालिएको हो ।

भाँडगाउँका स्थानीयवासीले स्याउ लगाइएको जमिन वन क्षेत्र रहेको दाबी गरेपछि स्याउका बोट नै काटेर फ्यालेका हुन् । उक्त स्थानमा वन क्षेत्रलाई मिचेर स्याउका विरुवा लगाइएको आरोप लागेसँगै जिल्ला वन कार्यालयदेखि उच्च अदालतसम्म यो विवाद पुगेको थियो । स्याउ लगाइएको स्थान वन क्षेत्र नै पर्ने भएको सरोकारवालाहरुले दाबी गरेपछि स्याउका विरुवा काटिएको हो ।

२०७१ सालदेखि अतिक्रमण हटाउन अटेरी गरेपछि बाध्य भएर बिरुवा काट्नु परेको सानीपातल काफलबारी सामुदायिक वनका अध्यक्ष रंगबहादुर रावतले बताए ।
उक्त क्षेत्रका फल दिइरहेका आठ सयसहित एक हजार स्याउका विरुवा काटेर फालिएका हो ।

करिब ५ हेक्टर क्षेत्रफलमा रोपिएका एक हजार विरुवामध्ये आठ सय विरुवामा स्याउ फलिरहेको र दुई सय विरुवा फल लाग्ने क्रममै रहेको अवस्थामा आक्रोशित स्थानीयले स्याउका बोट नै काटेर फ्यालिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

वनको भनिएको उक्त जग्गामा सिंजा–६ जोडुका ४ जना र सोही वडा भाडगाँउका ६ जना गरी १० जनाले स्याउ रोपेका थिए । कुल १० हेक्टर क्षेत्रफलमध्ये ५ हेक्टरमा स्याउका विरुवा रोपिएको थियो भने ५ हेक्टर जमिनको घेराबार गरी व्यक्तिगत प्रयोजन गरिएको थियो ।

अतिक्रण गरिएको जग्गा २०७१ सालमै फिर्ता ल्याउने प्रयास भएको थियो । जग्गा उपभोग गर्ने व्यक्तिले वन समितिलाई १० हजार दिने र  जग्गा पनि छोड्ने सहमति भएको थियो । तर वर्षौ बित्दा पनि उक्त सहमति कार्यान्वयन नगरी अटेर गरेर अतिक्रमित जग्गा नछोडेपछि विवाद अदालतसम्म पुगेको थियो ।

वनको जग्गा वनले नै स्वामित्वमा लिनु पर्ने आवाज उठेपछि स्याउ रोप्ने किसानलाई उक्त क्षेत्र खाली गरिदिन दवाव दिइएको थियो । उक्त विषयमा जिल्ला वन कार्यालयमा नै व्यापक बार्ता संवाद भएको थियो ।

रोपिएको विरुवा संरक्षण गरी अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउन सकिने पर्याप्त विकल्प भएपनि सामुदायिक वन उपभोक्ता समितिले नियमनुसार भन्दै आवेगमा आई स्याउ उत्पादन भइरहेको विरुवा नै काटेर फालिदिएका हुन् ।

जुम्लाको मुख्य आम्दानीको स्रोत स्याउ खेती रहेको छ । फल दिन सुरु गरेको स्याउका विरुवा वनको उपभोक्ता समितिका सदस्य तथा पदाधिकारी र स्थानीयले काटेर फ्यालेपछि यस विषयमा चौतर्फ आलोचना भएको छ ।

वनको जग्गा अतिक्रमण गरेर विरुवा रोपिएपनि वनकै स्वामित्वमा राख्ने गरी विरुवा संरक्षण गर्नुपर्नेमा विरुवा नै काटेर फ्यालेको भन्दै स्थानीयवासीविरुद्ध चर्को आलोचना भएको छ ।

उता गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले स्थानीय आक्रोशितले आवेगमा स्याउ काटेको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै स्याउका विरुवा काटिएको स्थानमा पालिकाले वृक्षारोपणको काम गर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले नियमनुसार अतिक्रमण गरिएको वनको जग्गा खाली गर्दा स्थानीय आक्रोशित भएर स्याउका विरुवा काटिएको बताए ।

उनले भने, ‘यो विषयमा अदालतसम्म मुद्धा पुगेको, विभिन्न पटक सहमति भएको भए पनि स्याउका विरुवा लगाउने व्यक्तिले सहमति कार्यान्वयन नगरेकाले आक्रोशित सामुदायिक वन उपभोक्तामा आवद्ध व्यक्तिहरुले स्याउका विरुवा नै काटेर फ्यालेका हुन् । यो वन कार्यालयले गरेको होइन् ।’

सामुदायिक वनको संरक्षण गर्ने, नियम बनाएर उपयोगमा ल्याउनेदेखि अतिक्रमण हटाउने, नियमन तथा निरीक्षण गर्ने अधिकार समेत सामुदायिक वन उपभोक्ता समितिलाई हुन्छ ।

सानीपातल काफलबारी सामुदायिक वनका अध्यक्ष रंगबहादुर रावतले अतिक्रमण गरिएको जमिन उपयोग नगर्न पटक पटक अनुरोध गर्दा पनि नटेरेपछि सबैको सहयोगमा स्याउका विरुवा काटिएको बताए ।

रावतले भने, ‘अतिक्रमण गरेको जग्गा फिर्ता गर्न धेरै पटकको निर्णय कार्यान्वनमा अटेरी गरेपछि सब डिभिजन वन कार्यालय नराकोट, प्रहरी र स्थानीयको सक्रियतामा विरुवा काटेका हौं । अब अन्य विरुवा रोपेर वनलाई हराभरा बनाउँछौ ।’

उनले अगाडि थप भने, ‘डिभिजन वन कार्यालयमा विरुवा माग गरेका छौ । सल्ला, धुपी, ओखर, पिलललगायतका थुप्रै विरुवा लगाएर वनलाई हरियाली बनाउँछौं ।’
अतिक्रमण गरिएको भनिएको वन क्षेत्र सिंजा ६ को पूर्वमा दिलौरी खोला पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी चारकिल्लामा फैलिएको छ ।

कमेन्ट गर्नुहोस्