काठमाडौं । गएको मंसिर २८ गते बढुवा भएका नेपाली सेनाका रथी अशोकराज सिग्देलविरुद्ध अख्तियारमा जन्ममिति कीर्ते गरेर जागिर खाएको अभियोगमा मुद्दा दर्ता भएको छ ।
सिग्देलले बढुवाका लागि पेश गरेका कागजातहरु केलाउँदा उनका चारवटा जन्ममिति पाइएको छ । मुद्दामा उल्लेख गरिएअनुसार उनको एसएलसी र प्रविणता प्रमाणपत्रअनुसार जन्ममिति २०२१/१२/१९ उल्लेख भएको र त्यसलाई केरमेट गरी पछि २०२३/१०/१९ कायम गरिएको भेटिएको छ । त्यस्तै नागरिकतामा पनि दुईवटा नागरिकताअनुसार २०२३/०४/२९ गते र २०२३/०६/०९ गते दुई थरी जन्ममिति उल्लेख भएको देखिएको छ ।
अख्तियारमा दिइएको उजुरीअनुसार उनले कागजात कीर्ते गरेर सम्मानजनक पद प्राप्त गरेको दाबी छ । गएको मंसिर २९ गते प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी रहेका अशोकराज सिग्देललाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
उनले २०२३ साल १९ गते तनहुँमा जन्मिएको प्रमाणका आधारमा जागिर खाइरहेका छन् । उनको हुर्काइ भने कपिबस्तुमा भएको हो । सिग्देलले २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृतबाट जागिर सुरु गरेका हुन् ।
उनी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए। रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । ।
उनी भारत, इण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका छन् । उनले चीनबाट एनडीसी तालिम पनि लिएका छन् ।
यस्तै, उनी युगोस्लाभिया, ताजकिस्तान र लाइवेरियामा शान्ति सेनामा सहभागी भएका छन् । सिग्देल सेनापति बन्ने लाइनमा छन् । रथीमा बढ्ने बेलामै उनको उमेरमा कैफियत देखिएको थियो । तर सेनाले छानबिन गरेर उमेरमा कैफियत नदेखिएकाले बढुवा गरिएको जनाएको थियो ।