धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम प्रभावकारी बन्दै

Share:

कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’प्रभावकारी बन्दै गएको छ । गत आवको साउनदेखि यो कार्यक्रम १९ वटै वडामा प्रत्येक महिना सञ्चालन हुँदै आइरहेको छ  ।

स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार उपमहानगरले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले सबै वडामा उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

चालु आवको साउनदेखि वैशाखसम्म ३९ हजार ४६ जना बिरामीले सेवा लिएकाे अवस्थीले जानकारी दिए । उनका अनुसार सो अवधिमा ३० हजार दुई सय ९७ महिला र आठ हजार सात सय ४९ पुरुषले सेवा लिएका छन् ।

एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निः शुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए ।

स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार २० हजार चार सय ४४ जनाले जनरल फिजिसियनबाट, सात हजार पाँच सय ७२ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ११ हजार ३० जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिने मध्ये पाँच हजार आठ सय ७३ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उनले जानकारी दिए ।

पाँच हजार नौ सय ३० जनाले निःशुल्क प्रयोगशाला जाँच, पाँच हजार आठ सय ४८ गर्भसम्बन्धी लिएकामा दुई हजार पाँच सय ४४ ले निःशुल्क अल्ट्रासाउण्ड गराएका प्रमुख अवस्थीले जानकारी दिए।

“क्लिनिकमा बिरामीको निःशुल्क जाँचका साथै औषधि पनि निःशुल्क दिने गरिएको छ”, स्वास्थ्य शाखा प्रमुख अवस्थीले भने, “ग्रामीण क्षेत्रका विपन्न नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाइरहनुभएको छ । ज्येष्ठ नागरिक, गर्भवतीलगायत वर्गमा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पाएका छौँ ।”

आव २०७९/८० मा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका उपमहानगर कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्