एक महिनाभित्र भूकम्पको जोखिममा रहेका संरचना भत्काउन सहिद लखन गापाले दियो निर्देशन

Share:

गोरखा । ०७२ सालमा  भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन सहिद लखन गाउँपालिकाले निर्देशन दिएको छ ।

भूकम्पलगायत अन्य सबै प्रकारका विपतका कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको थिए । त्यस्ता सबै संरचना  जोखिमपूर्ण हुनाले यस्ता घर तथा संरचना भत्काउन गाउँपालिकाले निर्देशन दिएको हो ।

गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले भने ‘नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरधनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो,’ उनले भने, ‘त्यसले क्षतिको थप जोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सबैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ।’

०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माण गर्न सरकारले रु. तीन लाख अनुदान उपलब्ध गराएको थियो। तर, पालिकाभित्र अनुदान लिएका कतिपय लाभग्राही अझै पनि जोखिमयुक्त संरचनामा  बस्दै आएका छन्।

गाउँकार्यपालिकाको गत वैशाख २६ गते बसेको बैठकले पालिकाभित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो।

निर्णय अनुसार मंगलबार पालिकाले सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो। गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको छ।

‘जोखिमयुक्त संरचना जतिवेला पनि खस्न सक्ने, झर्न सक्ने जोखिम बढी हुन्छ,’ अध्यक्ष थापामगरले भने,  ‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुन सक्ने भएकाले समयमा नै सतर्कता अपनाउन पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो।’

कमेन्ट गर्नुहोस्