छिन्नमस्ता गाउँपालिकाले पठायो शिक्षकहरुको मासिक तलबभत्ता सीधै खातामा

Share:

सप्तरी । बुधबारदेखि छिन्नमस्ता गाउँपालिकाले शिक्षकहरुको मासिक तलबभत्ता सीधै बैंक खातामा पठाउन सुरु गरिएको छ । यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गरिने व्यवस्था थियो ।

पालिकाका अनुसार पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयमा रहेका १ सय ६७ जना शिक्षक तथा कर्मचारीको तलबभत्ता सिधै बैंक खातामा पठाउन सुरु गरिएको  छ ।

बुधबारदेखि शिक्षक कर्मचारीको सेवासुविधा सीधै सम्बन्धीत व्यक्तिको बैंक खातामा राख्न सुरु गरिएको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरी भन्छन्, ‘इलेक्ट्रोकिन फन्ड ट्रान्सर्फर (इफटी) मार्फत पालिकाको खाताबाट सिधै सम्बन्धीत शिक्षकहरुको खातामा मासिक रुपमा सिधै रकमान्तर गर्ने माध्यम नै इफटी हो । सम्भवत मधेश प्रदेशकै पहिलो पालिकाका रुपमा छिन्नमस्ता गाउँपालिकाले यो कार्य गरेको हो’।

पहिलो चरणमा बुधबार सखडा, छिन्नमस्ता भुपेन्द्र संस्कृति मा.बि.को सम्पुर्ण शिक्षक तथा स्टाफहरुको मासिक सेवासुविधा इफटी माध्यमबाट भुक्तानी गरिएको उनले बताए ।

बुधबार २ सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको रकम भुक्तानी गरिएको भन्दै सबै विद्यालयका शिक्षकहरुको सेवासुविधा मासिक रुपमा खातामा सीधै पठाइने जानकारी दिए ।

३/३ महिनामा सेवासुविधा पाउँदै आएका शिक्षकहरुले अब पालिकाको यो निर्णयपश्चात मासिक रुपमा आफ्नै बैंक खातामा तलब पाउन बाटो खुलेको हो ।

पालिकाको अध्यक्षमा चौधरी निर्वाचित हुनुअघि वर्षाेदेखि पालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुले सेवासुविधा पाएका थिएनन् । अध्यक्ष निर्वाचित भएको १५ दिनभित्रमै निर्णय गरेर शिक्षक बाहेक अन्य कर्मचारी सबैको सेवासुविधा भुक्तानी गरेका चौधरीले शिक्षकहरुलाई समेत मासिक रुपमा तलब पाउने व्यवस्था गरेका हुन् ।

कमेन्ट गर्नुहोस्