सहकारी पीडितकाे बचत फिर्ता हुन्छ- अर्थमन्त्री पुन

Share:

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।  यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ ।

मन्त्री पुनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने आश्वासन पनि दिएका छन् । ‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ ।’

मंगलबार सार्वजनिक बजेट वक्त्वयमा सरकारले सहकारी संस्थाको बचतकर्ताहरूको ५ लाखसम्म रकम सञ्चालकहरुको सम्पत्ति रोक्का राखी फिर्ता गर्ने उल्लेख गरेको थियो । अर्थमन्त्री पुनले संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्