मेयर भामले भने- रारा तालमा केन्द्रका सबै मन्त्रीलाई प्रवेश निषेध छ !

Share:

काठमाडौँ । छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले रारा तालमा केन्द्रका सबै मन्त्रीलाई प्रवेश निषेध गरिएको बताएका छन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सो जानकारी दिएका हुन् ।

सरकारका मन्त्रीदेखि सांसदसम्म रारामा पुगेर विभिन्न आश्वासन दिएतापनि सरकारले बजेटमा रारा को पर्यटन प्रवद्र्धनलाई वेवास्ता गरेको भन्दै छायाँनाथ रारा नगरपालिका रुष्ट बनेको हो ।

पालिका प्रमुख भामले सरकारले रारामा पर्यटन प्रवद्र्धन गर्ने बाचा दिएर पूरा नगरेको बताए । उनले सामाजिक सञ्जाल मार्फत बर्षमा १ पटक रारामा कार्यक्रम गर्ने फोटो खिच्ने जाने सांसदतथा मन्त्रीहरुलाई निषेध गरिएको बताए ।

मेयर भामले फेसबुकमा लेखेका छन् ,‘यति राम्रो स्वर्गकी अप्सरा ,नेपालकै ठुलो ताल रारा लाई हिजोको बजेट बक्तव्यमा रारा भन्ने शब्द आएन, कुनै पनि तहका मन्त्रीहरु सान गरेर रारामा आउने, माईन फ्रेस गर्ने, स्वर्गको आनन्द्र लिने, बर्षमा १ पटक रारामा कार्यक्रम गर्ने फोटो खिच्ने जाने खबरदार छायाँनाथ रारा नगरपालिकाले सम्पुर्ण मन्त्रीहरु लाई रारामा निषेध गरिएको छ’ ।

उनले मन्त्री तथा सांसदहरुलाई मात्र रारामा निषेध गरिएको तर आन्तरिक तथा वार्य पर्यटकका लागि रारा सधै खुला रहेको समेत उक्त पोस्टबाट जानकारी दिएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राराको पर्यटन प्रवद्र्धन तथा भौतिक संरचना निर्माणका लागि पटक पटक बाचा गरेतापनि बजेटमा रारा शब्द नराखेर बाचा तोडेको बताए ।

‘डेढ घण्टाको बजेट भाषणमा रारा भन्ने शब्द नै सुनिएन, सरकारले आश्वासनमात्रै  दियो पूरा गरेन । रारामा आउने सरकारी उच्च तहका कोही कसैलाई नगरपालिकाबाट हुने आतिथ्य तथा स्वागत केही हामीले गर्दैनौँ’, उनले भने ।

कमेन्ट गर्नुहोस्