काठमाडौं महानगरको सीप मेलामा अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रका पदाधिकारी भ्रमण बढ्दो

Share:

काठमाडौँ । ‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमूलक तालिम पाएभने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ’, श्रीलंकाका राजदूत मार्सल सुदर्शन मथिरानाले काठमाडौं महानगरले आयोजना गरेको सीप मेला हेरेपछि प्रतिक्रिया दिएका थिए ।

महानगरले आयोजना गरेको सीप मेलामा विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधिहरुले भ्रमण गरिरहेका छन् । जेठ १६ गते संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का उपआवासीय प्रतिनिधि जुलियन चेभिलाडले पनि सीप मेलाको अवलोकन गरेका थिए ।

गएको जेठ १५ गते पनि नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोद फिर्दुसले सीप मेलाको अवलोकन गरेका थिए ।

जेठ १७ गते नेपालका लागि श्रीलंकाका राजदूत मार्सल सुदर्शन मथिरानाले सीप मेलाको अवलोकन गरेका छन् । उनले सीप मेलाको अवलोकनपश्चात प्रतिक्रियामा भनेका थिए, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’

अवलोकनका क्रममा राजदूत मार्सल सुदर्शन मथिरानाले औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको बताएका थिए ।

‘निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाकाबीचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिन्छ’, राजदूत पथिरानाले भने ।

जेठ १७ गते सीप मेलाको अवलोकन दक्षिण कोरियाका राजदूत पार्क, ताइ योङ्ले पनि गरेका छन् । उनले कोरियाको विकासमा सीप विकासको भूमिका महत्वपूर्ण रहेको बताए ।

कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सीपमूलक तालिममा जाने बताऐ । टुँडिखेलमा आयोजना भइरहेको सीप मेला २०८१ को अवलोकनका क्रममा बुधबार तालिम स्थलको अवलोकन गरिसकेपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।

त्यसो त गएको जेठ १५ गते नेपालका लागि फिनल्याण्डकी राजदूत रीना—रीक्का हेक्काले पनि सीप मेलाको अवलोकन गरेकी थिइन् । महानगरको सीप मेलाको अवलोकनपछि उनको प्रतिक्रिया थियो– ‘सीप मेला’ ले युवाहरुलाई स्वरोजगार बन्न प्रोत्साहन गरेको र रोजगारमा जान सीप विकास गरेको महसुस गरेँ ।

जेठ १५ गते नै युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले ‘सीप मेला’को अवलोकन भ्रमण गरेका थिए । उनले ‘चलचित्रको सहर’ काठमाडौँ महानगरपालिकाको, ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक रहेको प्रतिक्रिया दिएका थिए ।

नेपालस्थित अमेरिकी दूताबासका सार्वजनिक मामिला प्रमुख गारेट वीकर्सनले पनि काठमाडौ्र महानगरले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका थिए । गएको जेठ १६ गते सीप अवलोकन गर्दै उनले भनको थिए– ‘व्यवसायिक तालिमले राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पार्छ । व्यवसायिक तालिमको महत्वपूर्ण लाभ भनेको यसले रोजगार र स्वरोजगारसँग जोड्छ । तालिमको प्रयोगात्मक कक्षाले विद्यार्थीलाई सिक्न प्रोत्साहित बनाउँछ । यसबाट दक्ष जनशक्ति उत्पादनमा योगदान हुन्छ ।’

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताए ।

काठमाडौं महानगरले आयोजना गरेको सीप मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिहरुको चासो धेरै बढेको छ । उसो त श्रममन्त्री डोरप्रसाद अर्यालले पनि सीप मेलाको अवलोकन गरेका थिए । महानगरले गरेको यो कामको अनुसरण गर्न स्थानीय तहहरु पनि उत्साहित रहेको देखिएको छ ।

नेपालका लागि फिनल्याण्डकी राजदूत रीना—रीक्का हेक्का

मलेसियाका कार्यवाहक राजदूत मोद फिर्दुसले सीप मेलाको अवलोकन गर्दै

सीप मेलाको अवलोकन गर्दै दक्षिण कोरियाका राजदूत पार्क, ताइ योङ्

सीप मेलाकाे अवलाेकन गर्दै श्रीलङ्काका राजदूत मार्सल सुदर्शन मथिराना

नेपालस्थित अमेरिकी दूताबासका सार्वजनिक मामिला प्रमुख गारेट वीकर्सन काठमाडौ महानगरले आयोजना गरेको सीप मेलाको अवलोकन गर्दै

कमेन्ट गर्नुहोस्