सडक डिभिजनले महानगरलाई भन्यो : न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाइसक्नू, नत्र कारबाही हुन्छ ।

69
0
Share:

काठमाडौं । बिनाअनुमति न्युरोडस्थित भत्काइएको सडकलाइ पहिलेको जस्तै बनाउन भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले बुधबार काठमाडौं  महानगरपालिकालाई पत्र लेखेको छ ।

उक्त पत्र मार्फत सडक डिभिजन कार्यालयले  बिनाअनुमति भत्काइएको न्युरोडस्थित सडक दुई दिनभित्र दुरुस्त बनाउन  महानगरपालिकालाई भनेको छ ।

डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर नारायणदत्त भण्डारीले बुधबार काठमाडौं महानगरलाई एक पत्र लेख्दै जेठ १२ मा फुटपाथ बढाउने नाममा काटेर भत्काइएको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक शुक्रबारसम्म दुरुस्त बनाउन भनेका हुन् ।

महानगरले उक्त सडक काटेर फुटपाथ बढाउन भन्दै वैशाख १८ गते नै सडक डिभिजनमा पत्र पठाएको थियो । तर सडक डिभिजनले आफूमातहतका सडक खण्डहरूमा विभिन्न कामका लागि जानकारी दिन महानगरबाट पत्र आए पनि अनुमति नदिएको जनाएको छ ।

सडक कटानका लागि सहमति दिनुपूर्व विभिन्न शर्तहरु पूरा हुनु पर्ने आशयको पत्र पठाइसकेको अवस्थामा महानगरले जानकारी नदिएको पनि डिभिजनले जनाएको छ ।

जेठ ३ गते पनि कार्यालयको कार्य क्षेत्रभित्र सहमतिबिना कुनै पनि काम नगर्न-नगराउन भने पनि जेठ १२ गते बिनासहमति न्यूरोडस्थित जुद्ध शालिक- इन्द्रचोक सडक खण्ड खन्ने र भत्काउने काम भएको पत्रमा उल्लेख छ ।

उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ विरुद्ध भएकाले तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन जेठ १३ गते नै पत्र पठाए पनि अटेरी गरिएको डिभिजनले जनाएको छ ।

जेठ १३ को पत्रको महानगर प्रमुख बालेन्द्र शाहले कार्यान्वयन नगरी अटेरी गरेको जनाउँदै डिभिजनले हालसम्म पनि सडक पुन:स्थापना नभएको जनाउँदै दोस्रो पत्र लेखेको हो ।

कमेन्ट गर्नुहोस्