भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

Share:

भरतपुर । चितवन एक्स्पो सेन्टर भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ। नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा भएको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ ।

चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आयोजित प्रदर्शनीको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले पोल्ट्री क्षेत्रको विकासका लागि प्रदर्शनी फलदायी हुने बताइन् । विश्वका विभिन्न देशमा गएर लिनुपर्ने ज्ञान स्वदेशमै पाउनु कुखुरापालक किसानका लागि ठूलो उपलब्ध भएको उनले बताइन् ।

पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले प्रदर्शनीले नेपालको कुखुराजन्य वस्तुको उत्पादनमा उपलब्धि हासिल हुने बताए । उनले प्रदर्शनीमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फार्मलगायत उपकरणसहित किसानलाई शिक्षा दिने जानकारी दिए ।

भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका प्रतिनिधि उदय सिंहले नेपालमा आयोजना गरिएको यो प्रदर्शनीबाट यहाँका कुखुरापालक कृषक र व्यवसाय गर्न चाहने प्रत्यक्ष लाभान्वित हुने बताए ।

नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इक्युमेन्ट एसोसिएसनको आयोजनामा भएको प्रर्दशनीमा एक सय ५० स्टल रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्री क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी तथा कृषक पाठशाला सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको जानकारी दिए ।

यही जेठ २० गतेसम्म सञ्चालन हुने प्रदर्शनीले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्