काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको टार्गेट दिएको छ ।
पाँच विकेट गुमाउँदै क्यानेडाले अमेरिकाविरुद्ध १९४ रन जोडेको हो । ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको हो।
क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए।
जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए।
दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।
सहआयोजक अमेरिकाको आईसीसी विश्वकपमा यो डेब्यु हो ।
क्यानडाले पनि विश्वकपमा आफ्नो डेब्यु गरिरहेको हो, तर यसअघि आईसीसीको ५० ओभरको क्रिकेट प्रतियोगितामा भाग लिइसकेको छ।
जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजले टी २० विश्वकप संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।