काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लाे समय पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीकाे बिराेधमा अग्रस्थानमा आएका छन् । केही अगाडि गिरिबन्धु टि स्टेटकाे विषय सामाजिक सञ्जालमा बहस छेड्दै मेयर बालेनले ओलीविरूद्ध अभिव्यक्तिहरू दिएका छन् ।
अहिले त मेयर बालेनले ओलीलाई ‘जेलमा बस्ने अपराध गरेकाे’ भन्ने अभिव्यक्ति दिएका छन् । ओलीविरूद्ध आक्रामक देखिनुमा पछिल्लाे समय बालेनले साेचेअनुसार न्यूराेडमा काम गर्न एमालेबाट नतिर्वाचित वडा प्रतिनिधिहरूले बालेनलाई सहयाेग नगरेकाे विषयले मुख्य भूमिका खेलेकाे देखिन्छ ।
मेयर बालेनले न्यूराेडकाे कालाेपत्रे सडकमा रहेकाे पार्किङ्ग हटाएर कालाेपत्रे काटेर त्यसमा हिड्नका लागि फुटपाथ बनाउन खाेजेका थिए । तर उक्त कामकाे केही वडाअध्यक्षहरूले बिराेध गरेका थिए । उता सडक विभागले उक्त काम गैरकानूनी भएकाे बताएकाे थियाे । त्यसकाे विरूद्धमा मेयर बालेनले सडक विभागकाे गेट अगाडि फाेहाेर लगेर थुपारिदिएका थिए ।
त्यतिमात्रै हाेइन, मेयर बालेनले यातायातमन्त्री रघुवीर महासेठविरुद्ध उनी जता जान्छन त्यतै फाेहाेर लगेर थुपारिदिने अभिव्यक्ति दिएका थिए । महासेठ एमालेमा आवद्ध मन्त्री हुन् ।
धुलो फ्यालेको विषयमा एमाले अध्यक्ष ओलीले मेयर बालेनको चर्को आलोचना गरेका थिए । त्यही विषयकाे आक्राेश मेयर बालेनले ओलीविरूद्ध ओकलेकाे देखिन्छ ।
उनले त्यही विषयसँग जाेडेर ओलीलाई गिरिबन्धु टिस्टेटतिरकाे विषय देखाइ ‘धम्क्याएकाे’ देखिन्छ । १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा विवाद सिर्जना गरेको आरोप उनले ओलीविरूद्ध लगाएका छन् ।
झापाको गिरिबन्धु टि इस्टेट जग्गा सट्टापट्टा प्रकरणमा १० हजार करोड घोटाला गरेको र त्यसलाई ढाकछोप गर्नका लागि न्युरोड फुटपाथ विस्तारमा विवाद सिर्जना गरिदिएको बालेनले ओलीलाई ओराेप लगाएका छन् ।
न्यूराेडमा वडाअध्यक्षहरूकाे आपत्ति पछि मेयर बालेनले विज्ञ समूह बनाएर अध्ययन गराउने र सोही अध्ययनका आधारमा न्युरोड क्षेत्रको फुटपाथ व्यवस्थित गर्ने बताएका छन् ।