काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित १४ जना विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।
लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि १ अर्ब ४ करोड बिगो माग दाबीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।
अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।
कसले चलाउँछ त नगरपालिका ?
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ मा कार्यविभाजन र कार्य सम्पादनको व्यवस्था छ । उक्त व्यवस्थाअनुसार मेयर वा अध्यक्षको अनुपस्थितिमा उपमेयर वा उपाध्यक्षले स्थानीय सरकार प्रमुखको हैसियतमा काम गर्ने व्यवस्था छ ।
यस्तै, ऐनको दफा १८ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जहाँ कार्यपालिका बैठकले आफूलाई प्राप्त अधिकार जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई प्रत्यायोजन गर्ने सक्ने व्यवस्था छ । मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा उनीहरुकाे जिम्मेवारी कसरी कसलाई दिने भन्ने स्पष्ट व्यवस्था भने छैन् ।
गाेदावरी नगरपालिकाका मेयर र उपमेयर दुबै जनामाथि एकसाथ भ्रष्टाचारको मुद्दा लागेको छ । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि मेयर र उपमेयर एकसाथ निलम्बनमा परेका छन् ।
नगरपालिका सञ्चालनकाे उपाय भने नगरपरिषदबाट टुंगाे लाग्न सक्छ । संघ वा प्रदेशकाे जस्तै जेष्ठताका अाधारमा नगरपरिषदका सदस्यमध्ये कुनैले नगरपालिकाकाे नेतृत्व गर्न सक्ने सम्भावना रहेकाे छ ।