
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।
युवा तथा खेलकुद मन्त्रायलले आइतबार सचिव स्तरीय निर्णय गर्दै स्थानीय तहलाई क्रिक्रेट खेल लाइभ गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत परिपत्र गरेकाे हाे ।
‘आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुको समेत सहभागिता रहेको हुँँदा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर सबै स्थानीय तहहरुले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरी नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजिकरणका लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।
विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल आज राति सवा ९ बजेबाट सुरु हुँदैछ । खेलकुद मन्त्रालयकाे परिपत्र अगावै काठमाडौं महानगरपालिकाले टुँडिखेलसहित महानगरका विभिन्न स्थानमा खेल प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ ।
पोखरा महानगरपालिकाले पनि पृथ्वीचोक स्थित परिचय एड्भरटाईजिङ एजेन्सीको स्क्रिनमा नेपाल र नेदरल्यान्ड बीच हुने खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।